काठमाडौं । नेपालको सेयर बजारमा आम नागरिकको आकर्षण दिनहुँ बढ्दै गएको देखिएको छ । कमजोर भनिएका कम्पनीको मूल्य पनि अधिक वृद्धि भएको छ भने कारोबार रकम पनि बढ्दो । गएको साता सेयर बजार परिसूचक तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा पुगेर रोकिएको छ । यसले सेयर बजारमा धेरैको आकर्षण रहेको पुष्टि गरेको छ । गतसाता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७९ विन्दुमा पुगेर रोकिएको छ ।
गत साता धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार छ लाख नौ हजार छ सय १८ पटकको कारोबारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले कम हो ।
अघिल्लो साता भने धितोपत्र बजारमा दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार छ लाख ६३ हजार छ सय ९६ पटकको कारोबारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार एक सय ४५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने पाँचौं अर्थात अन्तिम कारोबार दिन बजार परिसूचक ओरालो लागेको थियो ।
सो मध्ये पहिलो दिन बजार परिसूचक एक दशमलव २५ अंकले उकालो लागेर तीन हजार ८१ दशमलव पाँच विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २४ विन्दुले उकालो लागेर पाँच सय ७२ दशमलव १५ विन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक चार दशमलव छ अंकले उकालो लागेर तीन हजार ८५ दशमलव सात विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३० विन्दुले उकालो लागेर पाँच सय ७२ दशमलव ४६ विन्दुमा चढेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक २६ दशमलव दुई अंकले उकालो लागेर तीन हजार एक सय ११ दशमलव नौ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव छ अंंकले उकालो लागेर पाँच सय ७७ दशमलव ५२ विन्दुमा चढेको थियो । चौथो दिन पनि बजार परिसूचक १२ दशमलव पाँच अंकले उकालो लागेर तीन हजार एक सय २३ दशमलव १४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७१ अंकले उकालो लागेर पाँच सय ७८ दशमलव २३ विन्दुमा चढेको थियो । पाँचौं दिन भने बजार परिसूचक १६ अंकले आरालो लागेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ६४ अंकले उकालो लागेर पाँच सय ७९ विन्दुमा चढेको थियो ।
गएको साता बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सुचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।