दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा पहिरो गएको एक वर्षपछि पहिरो स्थल निरीक्षण गर्न पीडितको गाउँमा प्रदेश सरकार पुगेको छ । गत सात असारमा गएको पहिरोले विस्थापित बनेका घर परिवारलाई भेट्न तथा पहिरोले गरेको क्षतिको अवस्था बुझ्न शुक्रबार वाग्मती प्रदेश सरकारका प्रतिनिधि लापिलाङ पुगेका हुन् ।
वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पहिरो निरीक्षण गर्न लापिलाङ पुगेको टोलीले घर पूर्णरुपमा क्षति पुगेकाहरुको घर निर्माणका लागि प्रदेश सरकारको कोष र संघीय सरकारको कोषबाट अनुदान रकम उपलब्ध गराउने आश्वासन दिएका छन् । टोलीले पहिरोबाट विस्थापित भएकाहरुलाई तत्काल बसोबासको व्यवस्था मिलाउन विस्थापितको विवरण तत्काल निकाल्न कालिञ्चोक गाउँपालिकालाई आग्रह गरेको गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।
गत साल कालिञ्चोक गाउँपालिका ५ लापिलाङको रानीवनबाट खसेको पहिरोले यहाँका नौ घर बगाएको थियो भने ४० घरपरिवार विस्थापित भएका थिए । उनीहरुको अवस्थाबारे बुझ्न एक वर्षपछि वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे र दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहितको टोली शुक्रबार लापिलाङ पुगेको थियो ।
गत वर्ष गएको पहिरोका कारण यस वर्ष पनि लापिलाङका सयौँ रोपनी खेतीयोग्य जमिन, आसपासको सडक पहिरोले तानिरहेकोे छ । यस वर्ष पनि सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा रहेको पहिरो पीडित लालमान थामीले बताए । पटक–पटक पहिरोको शिकार बन्दै आएका सो गाउँका स्थानीयले प्रदेश सरकारसँग सुरक्षित बस्तीमा सार्न माग समेत गरेका छन् । पहिरोपीडितहरु अहिले नजिकैको विद्यालयमा बसिरहेका छन् । पहिरो अनुगमन गर्न आएको टोलीले पीडित परिवारहरुलाई तत्कालको लागि प्रतिपरिवार २५ हजार रुपैयाँ र पक्कि घर निर्माणका लागि प्रतिपरिवार चार लाखका दरले रकम उपलब्ध गराउने बताएको छ ।
यस्तै सुरक्षित स्थान पहिचानको लागि गाउँपालिकालाई निर्देशन समेत दिएको छ । पहिरोले जग्गा जमिन तथा घरहरुमा ठूलो मात्रामा क्षति गरेको र सिंगो गाउँ नै पहिरोको उच्च जोखिममा देखिएकाले सुरक्षित स्थानमा सरेर बस्नका लागि सामाजिक विकासमन्त्री बस्नेतले पीडितलाई आग्रह गरेकी छिन् । पहिरोका कारण गणेश थामी, पुस्कर थामी, लालमान थामी, दिलबादुर थामी, सन्तकुमार थामी, सुजन थामी, लक्ष्मण थामी, अमर थामी र सरिता थामी गरि नौ घरपरिवार अहिले घरबारविहीन बनेका छन् ।