काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यो साता आधा दर्जन कम्पनीहरुको बोनस तथा साधारण सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्त, फाइनान्स र बीमासहितका सातवटा कम्पनीहरुको बोनस सेयर सूचीकृत भएको छ ।
जसमध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२ लाख ११ हजार पाँच सय कित्ता साधारण सेयर सूचीकृत भएको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पनि दुई करोड १५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।
यसैगरी नाडेप लघुवित्तको पनि १० प्रतिशतको अनुपातमा तीन लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको पनि यस साता आठ लाख २१ हजार एक सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको पनि एक लाख ४६ हजार ८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार यस साता फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाको पनि १२ लाख ५१ हजार ३८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसबाहेक यो साता रिलायन्स फाइनान्सको पनि १० प्रतिशतको अनुपातमा आठ लाख ३२ हजार चार सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।