काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोबोटबाट न्युरो सर्जरी (शल्यक्रिया) सुरु गर्ने भएको छ । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलोपटक रोबोटिक न्युरो सर्जरी सुरु गर्नलागेको हो ।
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौँ भन्ने उद्देश्यका साथ लागिपरेका विराटनगरका डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेसियालिटीको हब बनाउँदै रोबोटिक न्युरो सर्जरी सेवा सुरु गर्न लागेका हुन् । कलेजले नेपालमै पहिलोपल्ट न्युरो सर्जरीमा एस८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन चार अल्ट्रा अपरेटिभ, नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडान समेत गरिसकिएको जनाएको छ ।
केएमसीलाई सुपरस्पेसियालिटीका रुपमा विस्तार गर्नकै लागि दक्षिण एसियाली राष्ट्रहरुमा तेस्रो तथा नेपालमै पहिलो पल्ट न्यूरो सेवामा अत्याधुनिक उपकरणसहितको सेवा सुचारु गर्न लागिएको डा. शर्माले जानकारी दिए । यो सेवा दक्षिण एसियामा केएमसी अगाडि भारतको बेङ्लोरमा दुईवटा अस्पतालले मात्र ल्याएका छन् । केएमसीले कोरोना संक्रमण अगाडि नै रोबोटिक सर्जरी सेवा सुरु गर्न खोजे पनि लकडाउनले उपकरणहरु ल्याउन ढिलो भएको हो ।
एस ८ स्टिल्थ सिस्टम विथ गाइडमार्फत न्युरो सर्जरी गर्दा बिरामीको मस्तिस्क तथा मेरुदण्डमा रहेका विभिन्न प्रकारका नशाहरु जोगाउन समेत सहयोग पुग्नेछ । ‘हाम्रो शरीरका कुनै पनि भागहरु चलाउन मस्तिष्कमा बेग्लाबेग्लै नशाहरु हुन्छन् ।
परम्परागत प्रविधिबाट मस्तिस्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नशाहरु काटिनबाट जोगाउन निकै चुनौती हुन्थ्यो । पूरै टाउको खोलेर शल्यक्रिया गर्नुपर्दथ्यो’, केएमसीका वरिष्ठ न्युरो सर्जन डा. अमित थापाले भने, ‘यो पद्धतिबाट न्युरो शल्यक्रिया गर्दा मस्तिष्कका कुनै पनि भाग तथा नशाहरुमा नोक्सानी नपु-याईकन ट्युमर निकाल्न सकिन्छ । शल्यक्रिया गर्न सानो प्वाल पारेमात्रै पुग्छ ।’ एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ, नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टम न्युरो सर्जरीमा कम्प्लिट प्याकेज हो । यसबाट न्युरो सर्जरी र ढाड तथा मेरुदण्डको शल्यक्रिया गर्दा बिरामीले शल्यक्रियापछि लामो समय अस्पतालमा बस्ने बाध्यता समेत हटेर जान्छ ।
डा. थापाले क्रेनियल रोवर्ट टेक्नोलोजी नेपालको लागि एकदमै महत्वपूर्ण रहेको पनि बताए । ‘सानो प्वाल पारेर मस्तिष्कको जुनसुकै भागमा रहेको ट्युमर निकाल्न सकिन्छ । शल्यक्रियामा कम समय लाग्छ, बिरामीहरु अस्पतालबाट छिटो डिस्चार्ज हुन्छन्’, डा. थापा भन्छन् ।
अहिलेसम्म सर्जनहरुले शरीरका भित्री अङगहरु खासगरी मस्तिस्क, मेरुदण्डहरुको सर्जरी गर्ने बेलामा काल्पनिक थ्रिडी बनाएर काम गर्दथे । तर, केएमसीले भित्र्याएको नेभिगेसन सिस्टमले सर्जनहरुलाई थ्रिडी मिनटरमा ट्युमर कहाँ छ, कुन नशा कहाँ छ ? सबै प्रकारको जानकारी दिन्छ । यसले बिरामीको रोगसँग पुग्नको लागि धेरै ठूलो शल्यक्रिया गर्नुपर्दैन । जुन ठाउँमा ट्युमर छ सर्जनहरु थ्रिडी मनिटरको माध्यमबाट त्यहीँ पुग्न सक्छन् । यसले मस्तिष्क तथा मेरुदण्डका कुनै पनि शल्यक्रियाहरुको उपचारमा ९५ प्रतिशतसम्म एक्युरेसी हुन्छ । यसअघि अनुमानको भरमा गरिने शल्यक्रियाले ८० देखि ८५ प्रतिशत मात्रै एक्युरेसी दिने गर्दथ्यो ।
केएमसीले ल्याएको रोबोट विश्वव्यापी रुपमा न्युरोलोजी विधामा उपयोग भएको आधुनिक प्रविधियुक्त हो । क्रेनियल रोबोटले मस्तिष्कमा पाइपहरु, ट्युब्सहरुलाई जुन ठाउँमा पठाउनुपर्ने हो त्यहाँ नै फिक्स गरेर पु-याउन सक्छ । यसले मस्तिष्कको भित्री भागको बायोप्सी गर्दा त्यहाँबाट कुनै पनि मासुको टुक्रा निकाल्नको लागि सहयोग पुग्छ भने, ट्युमर, छारे रोग, पार्किन्सन गम्भीर प्रकारका रोगहरुको उपचारमा टेवा पुग्नेछ । नशा तथा मेरुदण्ड र हड्डीसम्बन्धी भित्री रोगको उपचारमा सहयोग पुग्ने डा. थापाको भनाइ छ ।
केएमसीले भित्र्याएको एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ इन्ट्रा अपरेटिभ न्यूरो सिस्टम हो । यसले शल्यक्रियाको बेलामा बिरामी सुतिसकेपछि उसको कुन दिमागको भागले हात चलाउँछ, कुन भागले खुट्टा लगाउँछ, कुन भागले बोलीमा असर पर्छ ? ती भागहरुलाई सुरक्षा प्रदान गर्न सहयोग गर्दछ । यसअघि मस्तिष्कको कुनै पनि भागको शल्यक्रिया गर्दा अन्य भागहरुमा क्षति पुग्ने सम्भावना धेरै हुन्थ्यो । विगतमा कतिपय शल्यक्रियाहरु गर्दा कसैको हातखुट्टा नचल्ने, कसैको बोली बिग्रिने गर्दथ्यो । इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमले यो समस्याबाट छुट्कारा दिएको छ ।
डा. थापाले टेक्नोलोजीले उपचार पद्धतिमा ठूलै भूमिका निर्वाह गर्ने बताउँदै केएमसीमा भित्र्याइएको नयाँ प्रविधि प्रयोग गर्दा उपचारमा ९५ प्रतिशतभन्दा बढी सफलता हात पर्ने समेत दाबी गरे ।
केएमसीले इन्ट्रा अपरेटिभ न्युरो सिस्टमसँगै नेभिगेटेड ड्रिल समेत भित्र्याएको छ । यो हड्डीहरुमा प्वाल पार्न प्रयोग हुने गर्दछ । यो नेभिगेसन सिस्टमसँग जोडिएकोले चिकित्सकहरुले कुनै पनि हड्डीहरुमा प्वाल पार्दा मनिटरबाटै कहाँ कसरी ड्रिल भइरहेको छ थ्रिडी स्क्रिनमै हेर्न सक्छन् । यसले बिरामीको भित्री भागको सुरक्षामा ठूलै सहयोग पुग्नेछ । यो पद्धतिले दूरबिनको सहायतामा गरिने विभिन्न शल्यक्रियाहरुमा सहयोग पुग्ने बताइएको छ ।
यस्तै केएमसीले भित्र्याएको अर्को नवीनतम सिस्टम हो, एमआईएसएस सिस्टम । यो स्पाइनको कम्प्लेक्स सर्जरीहरुमा प्रयोग गरिन्छ । यी सबै अत्याधुनिक उपकरणहरुको प्रयोगबाट शल्यक्रिया गरेको बिरामीलाई त्यही दिनमा बेडबाट उभ्याएर हिँडाउन सकिने डा. थापाको दाबी छ ।
केएमसीले नयाँ व्यवस्थापन आएसँगै आउँदा दिनहरुमा न्युरो सर्जरी, युरोलोजी र साइत्रेटिकलाई एउटै सेन्टरमा राखेर एड्भान्स न्युरो सेन्टर बनाएर उपचार सेवामा काम गर्ने योजना बनाएको छ । आउँदा दिनहरुमा न्युरो सर्जरी, युरोलोजी र साइक्रेटिकलाई एउटै सेन्टरमा राखेर सँगै काम गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।
केएमसीमा न्युरो सर्जन डिपार्टमेन्टमा चार जना एमसीएच न्युरो सर्जनहरु छन् । डा. थापासँगै चार जना सर्जन रहेका छन् । केएमसीको न्यूरो सर्जरीबाट अहिलेसम्म छ हजार बढीले उपचार पाइसकेका छन् । केएमसीले अमेरिकाबाट करिब १० करोडको लागतमा रोबोटिक सर्जरी उपकरण ल्याएको हो ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माको प्रवेशसँगै केएमसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुपर स्पेसियालिटी सेवाहरु सुरु गरेको छ । केएमसीले भित्र्याएको विश्वस्तरीय चिकित्सा उपकरणले जटिल तथा गम्भीर प्रकारका रोगहरुको उपचारमा विदेश जानुपर्ने बाध्यता समेत कम गर्ने अपेक्षा गरिएको छ ।