अमेरिका । अन्तरिक्षसम्बन्धी कम्पनी भर्जिन गालाक्टिकले अन्तरिक्ष यात्राको भाडादर सार्वजनिक गरेको छ । बीबीसीका अनुसार एउटा सिटको लागि एक टिकटको सुरुवाती मूल्य साढे चार लाख अमेरिकी डलर तोकिएको हो ।
अर्बपति रिचार्ड ब्रान्सनको कम्पनीले गत जुलाईमा पहिलो यात्रुसहितको उडान सफलतापूर्वक गरेसँगै इच्छुक अन्तरिक्ष पर्यटकको लागि टिकटको मूल्य सार्वजनिक गरेको हो । कम्पनीले अर्को वर्षदेखि व्यावसायिक अन्तरिक्ष उडान सुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीले यसअघि धेरै परीक्षण उडानहरु गरिसकेको छ । यसअघि कम्पनीले साढे दुई लाख अमेरिकी डलरमा टिकट बिक्री गरेको थियो तर सन् २०१४ मा एउटा ज्यानै जाने गरी भएको दुर्घटनापछि टिकट बिक्री रोकेको थियो ।
गत महिनाको यात्रुसहितको सफल उडानसँगै यसप्रति मानिसहरुले रुचि बढाएको कम्पनीले दाबी गरेको छ । गत जुलाईमा ब्रान्सनसहितले युनिटी २२ उडान सफलतापूर्वक गरेका थिए । भर्जिन गालाक्टिक अहिले संसारकै धनी जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनसँग व्यावसायिक अन्तरिक्ष उडानका लागि प्रतिस्पर्धा गरिरहेको छ । यसबाहेक अर्का अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्ससँग पनि यस्तै प्रतिस्पर्धा छ । यी तीनवटै कम्पनी अन्तरिक्ष पर्यटन बजार विकासका लागि लागिपरेका छन् ।
जुलाईमा भर्जिन मिसनलगत्तै बेजोसले पनि आफ्नै रकेटमार्फत पूर्ण सिट क्षमतामा यात्रु बोकेर अन्तरिक्ष उडान गरेका थिए । बेजोसको कम्पनीले दुई लाखदेखि तीन लाख डलरसम्ममा अन्तरिक्ष टिकट बेच्ने योजना बनाएको छ । उता स्पेस एक्सले भने गत वर्ष पहिलो यात्रुसहितको उडान सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त उडानमार्फत दुई अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेर पृथ्वीमा फर्किएका थिए । अहिले स्पेस एक्सले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासासँग सहकार्य गर्दै स्टेसनमा कार्गो आपूर्ति गरिरहेको छ । स्पेस एक्सले पनि तीन अन्तरिक्ष पर्यटकलाई १० दिन अन्तरिक्ष यात्रा गराउने गत वर्ष योजना बनाएको थियो ।
भर्जिन गालाक्टिकले अन्तरिक्ष उडानका लागि मानिसहरुले एउटा सिटदेखि साथी र परिवारै लैजाने प्याकेज वा पूरै विमान नै रिजर्भ गर्नसक्ने जनाएको छ । यसअघि नै रुचि देखाउनको हकमा उनीहरुको सिट सुरक्षित राखिएको कम्पनीले जनाएको छ । अहिलेसम्म कम्पनीले छ सय टिकट यसअघि बन्द गर्नुअघि नै बिक्री गरिसकेको छ । कम्पनीको अबको युनिटी २३ नामक अन्तरिक्ष उडान आगामी सेप्टेम्बरमा अमेरिकाको न्यु मेक्सिकोस्थित स्पेसपोर्ट अमेरिकाबाट हुनेछ ।