काठमाडौं । नेपालमा कोरोनाको तेस्रो लहर आउने त्रास प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य विज्ञहरुले व्यक्त गरिरहेको बेला आइतबार एकै दिन देशका विभिन्न ठाउँमा ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितहरुको मृत्यु संख्या बढेको कारण नेपालका अस्पतालहरु कोरोना उपचारमा कमजोर रहेको संकेत गरेको छ । सरकारले कागजी निषेधाज्ञा जारी राखे पनि जनजीवन सहज भइरहेको बेला एक्कासि एकै दिन ५५ जनाको मृत्युले धेरैलाई झस्काइदिएको छ । कोरोनाको कारण अझै ठूलो क्षति हुने पूर्वानुमान गर्न थालिएको छ ।
आइतबार दई हजार पाँच सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभरका विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार एक सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी तीन हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा चार सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमित भई निको हुनेको दर ९३ दशमलव ६ प्रतिशत रहेको छ । हालसम्म छ लाख ६९ हजार दुई सय ९९ जनाले कोरोनालाई जितेका छन् ।
आइतबार काठमाडौँ उपत्यकामा मात्र नौ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार पाँच सय ४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र नौ सय ५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै सात सय ४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।