अमेरिका । सर रिचार्ड ब्रान्सनको भर्जिन एटलान्टिक कम्पनी बेलायती सेयरबजार लन्डन स्टक मार्केटमा सूचीकृत हुने भएको छ । बीबीसीका अनुसार एयरलाइन्सको व्यवसायलाई मजबुत बनाउन कम्पनीले यस्तो योजना बनाएको हो । कम्पनीले निजी लगानीकर्तासँगै ठूला सिटी फर्महरुलाई सेयर बिक्री गर्न सक्नेछ । यसो हुँदा ब्रान्सनको कम्पनीमाथिको पूर्ण नियन्त्रण गुम्नेछ । भर्जिन ग्रुपसँग अहिले एयरलाइन्स, अमेरिकी डेल्टा एयरको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
स्रोतका अनुसार भर्जिनले सेयरबजारमा जानको लागि सल्लाहकारहरु समेत नियुक्त गरेर तयारी थालिसकेको छ । तर एयरलाइन्सले भने अहिले यसलाई बाहिरी अनुमान मात्रै भएको संज्ञा दिएको छ । अरु एयरलाइन्सजस्तै यो कम्पनीको व्यवसायमा पनि कोरोना महामारीले धक्का दिएको छ । महामारीले यात्रा प्रतिबन्धका कारण हवाइ कम्पनीलाई धेरै नै मार पारेको थियो ।
गत अप्रिलमा कम्पनीले सन् २०२० मा कम्पनीले ६५ करोड ९० लाख पाउन्ड स्टर्लिङ घाटा व्यहोरेको जनाएको थियो । यात्रु संख्या उक्त वर्ष ८० प्रतिशतले घटेको थियो भने कम्पनीले हजारौँ रोजगारी कटौती गर्ने घोषणा गरेको थियो ।
सेयर बेचेर कम्पनीले कम्पनीलाई पुनः मर्मत गराउन आवश्यक रकम जुटाउन सक्नेछ । त्यसो त सेयरबजारमा यसअघि नै प्रवेश गरिसकेका ब्रिटिश एयरवेजको मातृकम्पनी आईएजी र इजीजेटको सेयर मूल्य कोरोनाअघिको भन्दा कमै छ । भर्जिन एटलान्टिकको आम्दानी बेलायत र अमेरिकाबाट धेरैजसो संकलन हुन्छ । कम्पनीले कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्ध र कडाइ हटेसँगै व्यवसाय पुरानै अवस्थामा फर्किने आशा गरेको छ ।