काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषिकर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सुदूरपश्चिम प्रदेशको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । प्रतिवेदनअनुसार क्षेत्रगत कृषि कर्जाअन्तर्गत २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४० दशमलव ७१ प्रतिशतले वृद्धि भई ११ अर्ब ५१ करोड ६४ लाख पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव ४५ प्रतिशत रहेको छ । यसैगरी सहुलियतपूर्ण कर्जा पनि २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाहित सहुलियतपूर्ण कर्जा २०७७ असार मसान्तको तुलनामा एक सय ३८ दशमलव ३० प्रतिशतले वृद्धि भई चार अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५३ दशमलव ७५ प्रतिशतले वृद्धि भएको थियो ।
सार्वजनिक निर्माण तथा रियलस्टेट समीक्षा अवधिमा समग्र घर जग्गा रजिष्ट्रेसन संख्या १० दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा सो संख्या चार दशमलव सात प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा घरजग्गा रजिष्ट्रेसनबापतको राजस्व संकलन ३६ दशमलव ५० प्रतिशतले वृद्धि भई ४७ करोड १६ लाख भएको छ ।
गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन २० दशमलव १३ प्रतिशतले वृद्धि भएको थियो । आ.व. २०७७/७८ को प्रथम छ महिनामा घर/भवन नक्सा पास संख्या २२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा घर/भवन नक्सापास संख्या एक दशमलव ६९ प्रतिशतले बढेको थियो । यस वर्ष कोभिड १९ को असर कम हुँदै जानु तथा लकडाउन हटेका कारण आर्थिक क्रियाकलापहरु पुनः सुचारु भएकाले घरजग्गा रजिष्ट्रेसन संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।
समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा रहेका जिल्लाहरुमध्ये कञ्चनपुर जिल्लामा घर/भवन नक्सा पासमा ह्रास आएको छ भने बाजुरा जिल्लामा एउटा पनि घर/भवन नक्सा पास नभएको र अन्य सबै जिल्लाहरुमा नक्सापास संख्यामा वृद्धि भएको छ । कोभिड–१९ का कारण बन्दाबन्दीको अवस्थाबाट यस आर्थिक वर्षमा आर्थिक क्रियाकलापहरु सुचारु हुनुका साथै पहाडी जिल्लाहरुमा कर्जालगायतका प्रयोजनका लागि घर नक्सापास गर्ने प्रचलन बढेका कारण नक्सापास संख्यामा उल्लेख वृद्धि भएको हो । बाजुरा जिल्लामा नक्सापास गर्ने प्रचलन विगतमा नरहेकोले यस वर्ष समेत नक्सापासको संख्या शून्य छ ।
प्रतिवेदनअनुसार सेवा क्षेत्र कर्जा २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा २३ दशमलव ९३ प्रतिशतले बढेर ५० अर्ब छ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २३ दशमलव ८७ प्रतिशतले वृद्धि भएको थियो । कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ४५ दशमलव ४२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा कुल सेवा क्षेत्र कर्जामध्ये थोक तथा खुद्रा बिक्रेतासम्बन्धी व्यवसायमा ७२.२० प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्तिमा नौ दशमलव ९७ प्रतिशत, अन्य सेवा व्यवसायमा प्रवाहित कर्जा छ दशमलव ७३ प्रतिशत, यातायात भण्डारण र सञ्चारमा पाँच दशमलव ६८ प्रतिशत तथा पर्यटनमा पाँच दशमलव ४२ प्रतिशत कर्जा प्रवाह भएको छ ।