काठमाडौं । केदारस्युँ गाउँपालिका वडा न २ वस्ने महेश विकले चिकित्सा शिक्षा आयोगद्वारा लिइने एमबीबीएस छात्रवृत्ति परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएपछि गाउँपालिकाका अध्यक्ष इन्द भण्डारीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
दुर्गम गाउँमा बस्ने गरिब परिवारमा हुर्केको व्यक्तिले एमबीबीएस छात्रवृत्ति परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्नु आफैँमा गौरवको कुरा भएको भण्डारीले बताए । यस्ता लगनशील, अनुशासित, गरिब परिवारबाट पढ्ने चाहना हुने तर पढ्नलाई पारिवारको आयस्रोत्र पुग्दैन भने यस्ता विद्यार्थीलाई आफूले सक्नेजति सहयोग गर्ने उनले बताए ।
गाउँपालिका अध्यक्षको सहयोगबाट राहत पुगेको भन्दै विक परिवार खुसी भएका छन् । विकट जिल्ला बझाङ, झन् गरिब दलित परिवारबाट नाम निकालेको भन्दै गाउँपालिका परिवारले महेशलाई धन्यवाद समेत दिएका छन् ।