काठमाडौं । काठमाडौं उपत्यकाभित्र राति ८ बजेटबाट सवारीसाधन बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ । कोरोना भीडभाडको कारण बढ्ने जनस्वास्थ्य विज्ञहरुले बताइरहेका छन् । त्यो भीड दिउँसो, बिहान वा राति जुनसुकै बेला पनि हुने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । तर, काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सर्वसाधारण जनताले पनि विश्वास नगर्ने तर्क गरेर राति ८ बजेपछि सार्वजनिक तथा निजी गाडी चलाउन नदिने निर्णय गरेको छ ।
गाडी चलाउन बन्द गरेको स्थानीय प्रशासनले कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गरेको जनाएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय थप गरेको हो । यद्यपि अत्यावश्यक सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ । मंगलबारको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ ।
यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो भने रातिको समयमा पनि सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको थियो ।
अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेकाले केही कडाइ गरिएको जनाइएको छ । आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि भनिएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्विमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन पाइनेछैन । खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न÷गराउन पनि पाइनेछैन । नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।
औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिनेछ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अर्डरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्नेछ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ । यसअघिको आदेशानुसार लामो दूरीका सवारीसाधन मापदण्ड पालना गरेर चलाउन पाइनेछ ।
सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ । अस्ति साउन २५ गते सोमबारसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यो पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढीले खोप लगाएका छन् । हालसम्म करिब एक करोड डोज खोप नेपाल भित्रिएको छ ।
यसैबीच, नेपालमा मंगलबार थप चार हजार नौ सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार एक सय २३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार एक सय २७ को पीसीआर परीक्षण गर्दा तीन हजार एक सय ९४ र पाँच हजार नौ सय पाँच जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार सात सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप दुई हजार एक सय १५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७३ हजार एक सय ९८ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.४ प्रतिशत छ ।
यस्तै मंगलबार ३५ जनाको निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार एक सय ५० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार तीन सय ३२ जना रहेका छन् । त्यस्तै ३३ हजार नौ सय ८५ जना होम आइसोलेसनमा, तीन हजार तीन सय ४७ संस्थागत आइसोलेसनमा र तीन सय ८१ जना क्वारेन्टाइनमा छन् । कोरोना सङ्क्रमितमध्ये सात सय ६१ जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ भने १७६ जना भेन्टिलेटरमा राखी उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।