काठमाडौं । समृद्धि अब्रोड नामक कन्सलटेन्सीले सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । प्रहरीले उक्त कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई आइतबार पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–५ हाँडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले सञ्चालन गरेको उक्त कन्सल्टेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि उक्त रकम उठाई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका सञ्चालकसहित चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।