काठमाडौं । नेपाल बैंक लिमिटेडको ललितपुर महानगरपालिकामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उक्त एक्स्टेन्सन काउन्टरको सोमबार उद्घाटन गरिएको हो । उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको बैंकले महानगरपरिसरभित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गर्दै अब बैंकले कृषि, महिला उद्यमशीलतालगायतको क्षेत्रमा रोजगार वृद्धि गर्न तथा उत्पादनमूलक क्षेत्रमा लगानीका साथै नगरबासीहरूको आर्थिक उन्नतिमा हातेमालो गर्दै सामाजिक उत्तरदायित्व बहन गरी अगाडि बढाउनुपर्ने बताए ।
महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक लिमिटेड महानगरपालिकासँग सहकार्य गरी डिजिटल बैंकिङ सुविधाद्वारा सेवाग्राहीहरूलाई आगामी दिनमा आधुनिक बैकिङ सेवा दिनुपर्ने बताइन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैंकिङद्वारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरूको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बताए । उक्त उद्घाटन कार्यक्रममा एक्स्टेन्सन काउन्टर सञ्चालन र महानगरका २९ वटै वडाहरूबाट राजस्व संकलन गर्नेसम्बन्धी सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितपुर शाखाका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गरेका थिए ।
‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत : अेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकले जारी गरेको तीन अर्ब ५० करोड रुपैयाँबराबरको एक हजार अंकित दरको ३५ लाख कित्ता ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्च लिमिटेड (नेप्से)मा सूचीकरण भएको छ ।
सूचीकरणका लागि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बीच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतापत्रमा एक कार्यक्रमका बिच हस्ताक्षर भएको छ । सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा कारोबार सुरु हुने जानकारी बैंकले दिएको छ ।