नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार दुई सय चार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत एक सय ४७ दिनयता एकै दिनमा संक्रमित भएका यो सबभन्दा कम संख्या हो ।
अघिल्ला दिनको तुलनामा दैनिक संक्रमितको संख्यामा क्रमशःकम हुँदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या तीन करोड १९ लाख ९८ हजार एक सय ५८ पुगेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ८८ हजार पाँच सय आठ रहेको छ । अघिल्लो दिनको तुलनामा यो संख्या घटेको छ । थपिएका संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या बढी भएकाले सक्रिय संक्रमितको संख्या घटेको हो । पछिल्लो एक दिनमा संक्रमणमुक्त भएकाको संख्या ४१ लाख पाँच सय ११ रहेको छ ।
योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ८० हजार नौ सय ६८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या ९७.४५ प्रतिशत हो । भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा तीन सय ३७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या चार लाख २८ हजार छ सय ८२ पुगेको छ ।