अमेरिका । चर्चित बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले बाल यौनदुराचारजन्य सामग्री छ कि छैन भनी प्रयोगकर्ताको फोन स्क्यान गर्ने नयाँ सिस्टमको बचाउ गरेको छ । वैयक्तिक गोपनीयतासँग जोडिने भन्दै यो नीतिको कटु आलोचनापछि एप्पल आफ्नो नीतिको बचाउ गर्न बाध्य भएको हो ।
एप्पलको आईक्लाउडमा फोटो अपलोड हुनुअघि बालयौन दुराचारसम्बन्धी हो कि होइन भनी पत्ता लगाउने प्रविधि एप्पलले भर्खरै ल्याएको हो । तर यसलाई मानिसहरुमाथि जासुसी गर्ने माध्यम भन्दै चर्को आलोचना भइरहेको छ । यसैलाई लिएर पाँच हजारभन्दा व्यक्ति र संस्थाले कम्पनीविरुद्धमा खुल्ला पत्र नै लेखेका छन् । परिणामतः एप्पलले उक्तबाहेक अन्य कुनै पनि कारण नदेखाई अन्यत्र यो सिस्टम प्रयोग नहुने प्रतिबद्धता जनाएको छ ।
डिजिटल प्राइभेसी कम्पनीहरुले गत हप्ता निरंकुश शासकले यो प्रविधि प्रयोग गरी लैंगिक अत्याचारदेखि विभिन्न देशमा राजनीतिक अन्याय गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर एप्पलले भने कुनै पनि सरकारलाई व्यक्तिगत मामिला नदिने बताएको छ । यो सिस्टमले उक्त प्रयोजनबाहेक अन्य काममा प्रयोग नहुने गरी सिस्टम तयार गरिएको कम्पनीले जनाएको छ ।