अमेरिका । अमेरिकी सिनेमा चेन एएमसीले उपभोक्ताबाट फिल्म टिकटको भुक्तानी बिटक्वाइनमार्फत पनि स्वीकार्ने भएको छ । कम्पनीले यही वर्षको अन्त्यदेखि डिजिटल मुद्राबाट भुक्तानी स्वीकार्ने जनाएको हो । यसका मालिक आदम आरोनले नयाँ मुद्रामा एएमसी कसरी सहभागी हुनसक्छ भनेर आवश्यक प्रविधि पत्ता लगाउने काम गरिरहेको बताए । एएमसी अमेरिकाकै सबैभन्दा ठूलो सिनेमा चेन हो ।
यद्यपि कम्पनीले युरोपमा पनि यसलाई स्वीकार्नेबारे केही बताएको छैन । बितेका हप्तामा बिटक्वाइनको मूल्य बढिरहेको छ । मंगलबार ४५ हजार अमेरिकी डलर प्रतिबिटक्वाइन मूल्यमा कारोबार भएको थियो । गत महिना भने यसको मूल्य घटेर प्रतिएक बराबर ३० हजार अमेरिकी डलर थियो । पछिल्लो समय बिटक्वाइनलाई भुक्तानीमा स्वीकार्ने व्यावसायिक संस्थाहरुको संख्या बढिरहेको छ । यसलाई स्वीकार्ने कम्पनीमा अमेरिकी मोबाइल अपरेटर एटीएन्डटी, माइक्रोसफ्ट र विकिपिडियासम्म छन् ।
‘मलाई ब्लकचेन र क्रिप्टोकरेन्सीबारे थप बुझ्न बितेको छ महिना लाग्यो, यसकै बारेमा बुझ्न मलाई पूरै दशक लागेको थियो’, आरोनले भनेका छन् । यसबारेको थप ज्ञानले नै बिटक्वाइनलाई भुक्तानीको माध्यम बनाउने साहस आएको उनले बताए । सोही कारण यही वर्षको अन्त्यतिर एएमसीसँग सूचना प्रविधि प्रणाली हुने र त्यसले बिटक्वाइन स्वीकार्ने उनको भनाइ छ । बिटक्वाइन स्वीकार्ने बताएसँगै एएमसीको सेयर मूल्य मंगलबार झण्डै छ प्रतिशतले बढेको थियो । तर पछि घटेको थियो ।
यसका बाबजुद जुन ३० सम्मको पछिल्लो छ महिनामा कम्पनीको राजस्व ४० प्रतिशतले ओरालो लागेर ५९ करोड ३० लाख पाउन्ड स्टर्लिङ पुगेको छ । धेरै ठाउँका सिनेमा घर महामारीले बन्द भएका कारण राजस्वमा असर गरेको हो । तेस्रो त्रैमासिकमा भने टिकट राजस्व ४५ प्रतिशतले बढेर सन् २०१९ कै स्तरमा पुगेको बताइएको छ ।