काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले गण्डकी प्रदेशबाट मात्र तीन खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप उठाएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिसम्बन्धी प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनअनुसार २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यो प्रदेशबाट परिचालन गरेको कुल निक्षेप १२ दशमलव दुई प्रतिशतले वृद्धि भई तीन खर्ब ३६ अर्ब ५९ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुका शाखा विस्तार, नेपाल सरकारले उपलब्ध गराउने पेन्सनलगायत विभिन्न सुरक्षा भत्ताहरु तथा भारत सरकारले अवकाशप्राप्त सैनिकहरुलाई प्रदान गर्ने पेन्सन बैंक खातामार्फत उपलब्ध गराउन थालेकोले निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप १६ दशमलव ७८ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कुल कर्जा लगानी ११ दशमलव ८९ प्रतिशतले वृद्धि भई दुई खर्ब ७६ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल कर्जा लगानी १६ दशमलव १० प्रतिशतले वृद्धि भएको थियो । कुल निक्षेप र कर्जामा गण्डकी प्रदेशको हिस्सा क्रमशः सात दशमलव ८६ र सात दशमलव ५७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा (बक्यौता रकम) २०७७ असार मसान्तको तुलनामा नौ दशमलव ५३ प्रतिशतले वृद्धि भई २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव ४८ प्रतिशतले वृद्धि भएको थियो । क्षेत्रगत कृषि कर्जा आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा कृषि र वनसम्बन्धी शीर्षकमा २१ अर्ब ५१ करोड र मत्स्यपालन व्यवसायमा १९ करोड कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार उक्त लगानी गत असार मसान्तको तुलनामा क्रमशः करिब २९ प्रतिशत र करिब २० प्रतिशतले बढी हो ।
कुल कर्जा लगानीमा कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा सात दशमलव ८४ प्रतिशत पुगेको छ । कर्जा वृद्धिको अवस्था हेर्दा नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी बढाउन जारी गरेका निर्देशनहरुको सकारात्मक प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक कर्जातर्फ भने आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित औद्योगिक कर्जा (बक्यौता रकम) २०७६ असार मसान्तको तुलनामा १७ दशमलव ४७ प्रतिशतले वृद्धि भई कुल ५८ अर्ब ५५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो । कुल कर्जामा औद्योगिक क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा २१ दशमलव १६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको विभिन्न नीतिगत व्यवस्थाहरुका कारण औद्योगिक क्षेत्रतर्फ प्रवाहित कर्जामा वृद्धि हुँदै गएको अध्ययन प्रतिवेदनमा भनिएको छ ।
औद्योगिक कर्जातर्फ भने आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक कर्जा शीर्षकमा प्रवाहित कर्जामध्ये निर्माण उपशीर्षकमा ४१ अर्ब, कृषि वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उपशीर्षकमा सात अर्ब २१ करोड र गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उपशीर्षकमा छ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । वित्तीय सेवातर्फ भने आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा गण्डकी प्रदेशमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरुको कुल शाखा संख्या एक हजार तीन सय २१ पुगेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरु कास्की जिल्लामा सबैभन्दा बढी अर्थात् तीन सय ५३ र मनाङ जिल्लामा सबैभन्दा कम अर्थात् १४ वटा रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा यस प्रदेशमा निक्षेपकर्ताहरुको कुल संख्या २०७७ असार मसान्तको तुलनामा ११ दशमलव २८ प्रतिशतले वृद्धि भई ४० लाख ९७ हजार आठ सय ५१ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि १७ दशमलव ७८ प्रतिशत रहेको थियो । माथि उल्लिखित कारणका अतिरिक्त सर्वसाधारणको वित्तीय चेतनामा भएको वृद्धि समेतले गर्दा निक्षेपकर्ताहरुको संख्यामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमार्फत विदेशी मुद्रा सटहीको इजाजतप्राप्त गरेका संस्थाहरुको संख्या एक सय ३८ रहेको छ । जसमध्ये, मनिचेन्जर ४४ वटा, होटल/रिसोर्ट ३५ वटा, ट्राभल एजेन्सी २६ वटा, ट्रेकिङ्ग एजेन्सी २८ वटा र अन्यको संख्या ५ रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट प्रदेशअन्तर्गतका राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरुमा सञ्चालित आठवटा नोटकोषहरुमा कुल सात अर्ब ९५ करोड फण्ड ट्रान्सफर भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कुल सात अर्ब ३६ करोड फण्ड ट्रान्सफर भएको थियो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट ४६ करोड ४८ लाखबराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ७६ दशमलव ३७ प्रतिशतले न्यून हो । अघिल्लो वर्ष एक अर्ब ९६ करोड ६८ लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको थियो । खरिद भएको कुल परिवर्त्य विदेशी मुद्रामा अमेरिकी डलरको अंश ५८ दशमलव ६० प्रतिशत, युरोको अंश २२ दशमलव ८४ प्रतिशत र बाँकी अन्य विदेशी मुद्राको रहेको छ । त्यसैगरी समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट ३२ लाखबराबरको भारतीय रुपैयाँ बिक्री भएको प्रतिवेदनमा उल्लेख छ ।