ढाका । बंगलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लिएको हो ।
पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइसँग पालना गर्नुपर्ने बताइएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ ।
परिपत्र अनुसार, कोभिड–१९सुरक्षा नियमको उल्लंघन गरेमा सरूवा तथा संक्रामक रोग नियन्त्रण कानुनअनुसार जरिवानादेखि जेल सजायसम्म हुने बताइएको छ । बंगलादेशले लकडाउनसम्बन्धी धेरै जसो प्रतिबन्ध हटाएको एक दिनपछि यो घोषणा भएकमो हो । बंगलादेशमा सार्वजनिक यातायात, कार्यालय र व्यापारिक बजार पुनः खोल्न अनुमति दिइएको छ ।
जुनदेखि कोभिड–१९ संक्रमणका घटनामा भएको वृद्धिका कारण सरकारले जुलाई १ देखि जुलाई १४ सम्म कडा लकडाउनको घोषणा गरेको थियो । तर संक्रमण दरमा कमी नदेखिएपछि यसलाई विभिन्न चरणमा गरेर अगष्ट १० सम्मका लागि लागु गरिएको थियो ।