काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रालिका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारीअनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर, जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरूलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आईएमई बैंक क्लासिक भिल्ला प्रालिले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रूपमा पनि रहनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । हाल बैंकले घर कर्जाको लागि सात दशमलव ९९ प्रतिशत (प्रिमियमसहित)को आकर्षक ब्याजदरमा विशेष घर कर्जा योजना सीमित अवधिको लागि सञ्चालन गरिरहेको छ ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८० शाखा, दुई सय ४८ एटीएम, दुई सय ५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ५० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।