काठमाडौं । बैंकिङ र लिखतसम्बन्धी कसुरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुंगाना पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतबाट २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर) कसुरमा १० वटा मुद्दामा ढुंगानालाई १० वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
सो कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरूको बयानबाट ढुंगानाको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गर्न २०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजतलास गर्दा निज नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको भन्ने बुझिन आएपश्चात् निजलाई अन्तर्राष्ट्रियस्तरमा खोज तलास एवं पक्राउ गर्न २०७५ पुस १७ गते डिफ्युजन जारी भएको र उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड नोटिसमा रुपान्तरण भएको थियो । साथै ढुंगानाले पोर्चुगलमा आवासीय अनुमतिको लागि आवेदन दिएको जानकारी २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा आएको थियो । उक्त शाखाले नेशनल सेन्ट्रल ब्युरो लिस्बन पोर्चुगलसँग समन्वय गरी ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरी शनिबार नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
नारायण बहादुर श्रेष्ठ समेत १२ जना प्रतिवादीहरूले काठमाडौं र ललितपुरका देवः विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरूमा विभिन्न सवारीसाधनहरू सुरक्षणबापत बैंकको नाममा पास गरी सवारीसाधन कर्जाबापत दुुई करोड ७१ लाख ७६ हजार रकम लिई बैंकको कर्जा रकम नबुझाएपछि लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरू बैंकको नाममा नरहेको जानकारी गराएपछि निज प्रतिवादीहरूले बैंकलाई हानि नोक्सानी पु¥याउने कार्य गरेको देखिन आएकोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही गर्न उक्त ब्युरोमा २०७५ मंसिर २१ गते जाहेरी दरखास्त प्राप्त भएको थियो ।
अनुसन्धानको क्रममा ढुंगाना समेतले सवारीसाधन कर्जा लिने प्रयोजनको लागि बैंकमा पेश गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरू केदार समेतले कीर्ते (नक्कली) बनाई पेश गरेको खुल्न आएको हुँदा सरकारी छाप तथा दस्तखत कीर्ते कसुर शीर्षकमा काठमाडौं जिल्ला अदालतमा पाँचवटा मुद्दा र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दायर भएकोमा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला भई प्रतिवादी ढुंगाना समेतका कसुरमा संलग्न प्रतिवादीहरूलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।
साथै काठमाडौं जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँचवटा मुद्दा र उच्च अदालत, पाटन, ललितपुरमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ ।उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिने उक्त ब्युरोले जानकारी दिएको छ ।