काठमाडौं । नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि खुद नाफा भने घटेको देखाएको छ ।
कम्पनीले गत आ.व. २०७७/७८ को असार मसान्तसम्ममा ७ अर्ब ४५ करोड ४० लाख रूपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । कम्पनीले आव २०७६/७७ को सोही अवधीमा ९ अर्ब ७४ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलब ५४ प्रतिशत अर्थात दुई अर्व २९ करोड ४९ लाख रूपैयाँ कम हो । यस्तै समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी भने ३ दशलमब ७० प्रतिशत बढेको छ ।
गत आवको असार मसान्तसम्ममा कम्पनीको सेवा वापतको कुल आय ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार रूपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधीमा ३४ अर्व ६१ करोड ९९ लाख ६४ हजार रूपैयाँ सेवा विक्री मार्फत आम्दानी गरेको थियो । कम्पनीले समिक्षा अवधीमा कुल सेवा वापतको आयमा १ अर्व २८ करोड ३७ लाख ६९ हजार रूपैयाँले वृद्धि गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी भने ३१ दशमलब ४६ प्रतिशतले घटेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी समेत ३ दशलमब १४ प्रतिशत घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने ६ दशमलब २० प्रतिशत बढेको छ ।
कम्पनीका अनुसार गत आ.व. को चौथो त्रैमासिक अवधिमा भने कुल सेवा वापतको आय ८ दशमलब ६० प्रतिशत अर्थात ६६ करोड ९० लाख ६० हजार रूपैयाँले वृद्धि भएको छ । कम्पनीको गत आवको चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय ८ अर्व ४५ करोड २३ लाख ८० हजार रहेकोमा अघिल्लो आवको सोही अवधीमा ७ अर्व ७८ करोड ३३ लाख २० हजार रहेको थियो । यस्तै कम्पनीले गत आ.व. को तेस्रो त्रैमासिक अवधिसम्ममा भन्दा चौथो चौथो त्रैमासिक अवधिमा १ अर्व ५६ करोड ९६ लाख १२ हजारले खुद मुनाफा वृद्धि गरेको छ । तेस्रो त्रैमास अवधिसम्ममा कम्पनीको खुद मुनाफा ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रूपैयाँ पुगेको हो ।
कम्पनीको गत आवमा खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रूपैयाँ ९९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ रूपैयाँ ६९ पैसामा झरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६४४ रूपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ । कम्पनीले खुद नाफा घट्नुमा कोरोना महामारीलाई देखाएको छ ।
कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आउनु, कोभिडको महामारीलाई लक्षित गरी निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराउनु, अन्तर्राष्ट्रिय यात्रामा लागेको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आउनु तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आउनु मुनाफामा कमी आउनुको मुख्य कारण रहेका छन् ।
यस्तै समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी÷एफटिटिएच जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि लगायतका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले जनाएको छ ।