काठमाडौँ ।नियामक बीमा समितिको निर्देशन उल्लंघन गर्ने जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले नै उन्मुक्ति दिने प्रयास गरेको खुलेको छ । बीमा समितिले चार्टर्ड एकाउन्टेन्ट ज्योति प्रकाश पाण्डेको संयोजकत्वमा गठन गरिएको कार्यदलले करोडौँ रकम हिनामिनाकाण्डमा संलग्न जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा कर्मचारीमाथि कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिने गरी निर्णय गरेको खुलेको छ ।
बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीमा भएको संस्थागत सुशासनहीनता र आर्थिक हिनामिना सम्बन्धमा चार्टर्ड एकाउन्टेन्ट ज्योति प्रकाश पाण्डेको संयोजकत्वमा दुई सदस्यीय कार्यदल बनाई छानबिनको लागि यही साउन १४ गते स्थलगत अनुगमनको लागि पठाएको थियो ।
कार्यदलले सोही दिन जनरल इन्स्योरेन्स कम्पनीमा पुगेर सञ्चालक समितिका माइन्यूट तथा निर्णयसम्बन्धी अन्य कागजातहरु नियन्त्रणमा लिएर छानबिन गरेको थियो । सो क्रममा सेयर घोटालाबापतको रकम जम्मा भइसकेको भन्दै निर्णय गरेर उक्त कागजातहरु फिर्ता पठाएको स्रोतको दाबी छ ।
खिलुङ कालिका एग्रो फर्म प्रालि सम्बन्धमा सञ्चालक समितिबाट भएका त्रुटिपूर्ण निर्णयहरुको सम्बन्धमा सञ्चालक समितिका अध्यक्ष कुनाल कयाल अन्य सञ्चालक तथा कम्पनीका जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्नुको साटो उन्मुक्ति दिने निर्णय गरिएको बुझिएको छ । त्यसैगरी, सञ्चालक आफैँले कम्पनीको नाममा सेयर कारोबार गर्ने एकाउन्ट बनाउर करोडौं रुपैयाँको कारोबारमा संलग्नमाथि पनि कारबाही नगरी उन्मुक्ति दिने प्रयास भइरहेको छ ।
संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत काम भएको, बीमकले बीमितसँग मिलेर सेटिङमा कुखुरा मरेको भन्दै तीन करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी दिएका कारण पुनर्बीमा कम्पनीबाट सो रकम प्राप्त नभएको अवस्थामा समेत बीमा समितिले घोटाला नदेख्दा बीमा क्षेत्रमा प्रश्न उब्जिएको छ ।त्यस्तै हाल सञ्चालक पदबाट राजीनामा दिएका दीपेन्द्र अग्रवालले कम्पनीको नाममा ब्रोकर कम्पनीबाट टिएमएस सिष्टमको युजर नेम तथा पासवर्ड लिई आफू संलग्न कम्पनीको सेयर किनबेच गरी कर्नरिङ गर्ने तथा सेयर खरिदबिक्रीबापतको रकम कम्पनीको खातामा जम्मा नगर्ने जस्ता आर्थिक अनुशासनविपरीतका कार्यहरु भएका थिए ।
उल्लिखित घोटालाकाण्डमा सहमति हुँदा सञ्चालकसँग मिलेर सेटिङको कमिसन खाने उच्च व्यवस्थापनमा काम गर्ने कर्मचारीहरु अहिले आएर तत्कालीन महाप्रबन्धक एसके तमोट र राजीनामा दिइसकेका सञ्चालक दीपेन्द्र अग्रवाललाई देखाएर कर्मचारीहरु पन्छिन खोजिरहेका छन् ।नियामक निकाय हुनुको नाताले घटना र अपराधमा संलग्न व्यक्तिमाथि कारबाही नगर्नुले आगामी दिनमा नियामक निकायको कार्यदक्षता र क्षमतामाथि नै प्रश्न उठ्ने निश्चित छ ।
जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिको अर्को स्पष्टीकरण
यसैबीच, जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले अर्को सात दिने पत्र पठाएर सेयर कारोबार सम्बन्धमा स्पष्टीकरण सोधेको छ । स्रोतले जनाएअनुसार बीमा समितिको संस्थागत सुशासन विभागले जनरल इन्स्योरेन्स कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।एक साता पुग्न लाग्दा समेत जनरल इन्स्योरेन्स कम्कनीले जवाफ पेश गरेको छैन ।
बीमा समितिको संस्थागत सुशासन समितिले जनरल इन्स्योरेन्स कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।नियामक निकाय बीमा समिति भ्रष्टाचार, अनियमितता, दण्डहीनता र संस्थागत सुशासन ध्वस्त भएको कम्पनीमा विभिन्न नाममा निरन्तर छानबिन गरिरहने तर कारबाही भने केही नगर्नुले मोलमोलाइ वा लेनदेन धन्दा हो कि भन्ने प्रश्न उठ्न थालेको छ ।