काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐँसेलुखर्क गाउँपालिका– ६ घर भई हाल मुलपानी बस्ने वर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।
यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरूले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिनेगरेको भन्ने विशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राइजिङ एक्सपर्ट ड्राइभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । तुलाधरले आफ्नै नाममा रहेको ०१–००–९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङमा दिएको थिए ।
तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो । दाहालको साथबाट गीता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र नं. ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ । ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौं व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए ।