दोलखा । पहिरोले विस्थापित बनेका लापिलाङका पहिरो पीडितलाई प्रतिनिधिसभा सदस्य जिपछिरिङ लामाले खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङमा गएको पहिरोका कारण घरजग्गाविहीन बनेका करिब एक सय ५० पहिरोपीडित घरपरिवालाई सांसद लामाले राहतस्वरुप खाद्यान्न सहयोग गरेका हुन् ।
एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तीमाथिको रानीवन पहिरोका कारण यहाँको एउटा सिंगो बस्ती नै विस्थापित बनेको छ । उनीहरुलाई कांग्रेस नेता समेत रहेका सांसद लामाले प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, एक लिटर तेल, नुनलगायतका खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् । लामाले उपलब्ध गराएको सामग्री गत शनिबार दोलखा कांग्रेसका नेताहरूले लापिलाङ पुगेर पीडितहरूलाई हस्तान्तरण गरेका थिए ।
राहत सामग्री वितरणपछि दोलखा कांग्रेसका सचिवद्वय सन्तोष रिमाल र बालकृष्ण आचार्य, कालिञ्चोक गाउँपालिका सभापति अर्जुन सिवाकोटीलगायतले तत्काल पीडितको उद्धारमा लाग्न सबैलाई आग्रह गरेका थिए । गत वर्षको असारदेखि झरेको पहिरो क्रमशः फैलिँदै गएपछि लापिलाङका विभिन्न बस्तीहरू जोखिममा परेका छन् ।
पहिरोका कारण गत वर्ष बन्देथली र आसपासका १२ घरपरिवारको उठिबास नै लाग्यो । अहिले पनि झण्डै १५ घरपरिवारको उठिबास नै हुने गरी पहिरोले कटान गरिरहेको र थप घरपरिवार विस्थापित बनेको कालिञ्चोक गाउँपालिका पाँच स्थानीय युवा सहदेव खड्काले जानकारी दिए ।
उनका अनुसार रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मको बस्तीमा पुगिसकेको छ । पहिरोका कारण त्यस क्षेत्रका स्थानीयहरू जेठ अन्तिमदेखि नै घर छोडेर अन्यत्र कष्टकर रूपमा बसोबास गरिरहेका छन् । पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झण्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका आधा दर्जन बस्तीहरूमा जोखिम सिर्जना भएको खड्काले बताए ।
सामान्य वर्षा हुँदा पनि माथिबाट बगेर आउने लेदोले झनै असर गरिरहेको स्थानीयको गुनासो छ । खड्काका अनुसार ‘पहिरोले तल्लो भागबाट व्यापक कटौती गर्दै लगेको छ, यही रफ्तारमा तान्दै जाने हो भने केही दिनभित्रै सुनखानी–साङ्बा सडकसमेत अवरुद्ध हुनुका साथै माथिल्लो बस्ती नै बगाउनेछ ।’ शानिबार राहत सामग्री सहयोग गरेका कांग्रेस नेता जिपछिरिङ लामाले गत बिहीबार प्रतिनिधिसभा बैठकमा लापिलाङ पहिरोबारे सम्बोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।