ढाका । कोभिड–१९ ले गाँजिरहेका बेला दक्षिण एसियामै खोप उत्पादन गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले औषधि उद्योगमा लगानी गर्ने भएको छ । त्यसअन्तर्गत कोभिडविरुद्धको खोप बंगलादेश र दक्षिण एसियाली देशमा उत्पादन गर्ने बताइएको छ ।
ढाका र चीनले खोप उत्पादनमा सम्झौता गरेकै दिन आईएफसीले यस्तो घोषणा गरेको हो । यो लगानीले मेडिकल फेसिलिटी, खोप र आपूर्ति तथा कोरोना प्रभावित लघु, साना र मध्यम व्यवसायलाई सहयोग गर्नेछ । त्यस्तै नवीकरणीय ऊर्जा, सुपथ मूल्यका आवासलगायतका क्षेत्रलाई पनि सहयोग पुग्ने आईएफसीले जनाएको छ ।
‘अत्यन्त जोखिमयुक्त मानिसको संरक्षण र कम्पनी सञ्चालन र रोजगारीमा मद्दत गर्ने प्रयासस्वरुप आईएफसीको लक्षित र दिगो लगानी दक्षिण एसियामा गर्न खोज्नुमा यो वर्षमा बलियो प्रभाव रहोस् भन्ने उद्देश्य हो’, आईएफसीले भनेको छ । आईएफसीले कोरोनाले खराब अवस्था सिर्जना गरेको बेला जुन २१ सम्ममा तीन अर्ब ८० करोड डलर यातायात र छोटो अवधिका लगानीमा खर्च गर्ने प्रतिबद्धता जनाएको थियो । यो क्षेत्रमा विगत पाँच वर्षयता आईएफसीले १३ अर्ब ९० करोड डलर लगानी गरिसकेको छ ।
भारतमा मात्रै आईएफसीले एक अर्ब ७० करोड डलर लगानी गरेको छ । गएको वर्षयता योा ५१ प्रतिशतभन्दा धेरै हो । त्यस्तै बंगलादेशमा ७९ करोड १० लाख डलरको प्रतिबद्धता पनि पूरा गरेको छ । गत वर्षभन्दा यो ३३ प्रतिशतले बढी हो । आईएफसीले दक्षिण एसियामा कोरोना प्रतिकार्यका लागि ५९ करोड डलर प्रतिबद्धता जनाएको छ । यसमा १० करोड डलर थप्ने पनि उसले जनाएको छ ।