काबुल । मुख्य मुख्य अन्तर्राष्ट्रिय एयरलाइनहरुले अफगानिस्तानको एयरस्पेस छोडेर उडानलाई निरन्तरता दिएका छन् । तालिबानले देशै कब्जा गरेपछि सुरक्षा चिन्तालाई मध्यनजर गर्दै उनीहरुले फरक रुट प्रयोग गरेका हुन् ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्दा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्सको यात्रु सेवामा अप्ठ्यारो परेको बताइएको छ । युनाइटेड एयरलाइन्स, भर्जिन एटलान्टिक, इमिरेट्स र फ्लाई दुवईले राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अन्योलपूर्ण भद्रगोल दृश्यहरुलाई मध्यनजर गर्दै रुट परिवर्तन गरेको र त्यहाँको अवस्था अनुगमन गरिरहेको जनाएका छन् । प्रभावित बजारमा कसरी सेवा प्रदान गर्ने भन्नेबारे अधिकारीहरुसँग नजिकमा रहेर काम गर्ने युनाइटेड एयरलाइन्सले जनाएको छ ।
यो परिवर्तनसँगै कम्पनीको भारत उडान प्रभावित भएको छ । यता भर्जिन एटलान्टिकले भारत र पाकिस्तानको आगामी उडान फरक रुटबाट गर्ने जनाएको छ । इस्लामावाद, लाहोर, मुम्बई र नयाँ दिल्लीजस्ता सहरमा जान कम्पनीहरुले अफगानिस्तानको एयरस्पेस प्रयोग गर्दै आएका छन् । ती सबै सहरका उडान डाइभर्ट गरिने पनि बताइएको छ ।
जर्मन एयरलाइन्स लुफ्थान्साले पनि आफ्ना उडान रिरुट गरिरहेको जनाएको छ । अर्को रुट प्रयोग गर्दा गन्तव्यमा पुग्न थप एक घण्टा लाग्ने कम्पनीले जनाएको छ । अहिले पूरै अफगानिस्तान तालिबानले कब्जा गरेको छ भने काबुलस्थित एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा छ । सोमबार उक्त विमानस्थलमा पनि अफगानीहरुको भीड लागेको थियो । सोही कारण सैन्य विमानबाहेक अन्य उद्धार उडानलाई रोकिएको थियो ।