काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको विकासको लागि कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाई बजारसँग संयोजन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालले वर्षेनी खर्बौँ मूल्यका खाद्यान्नलगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेका भन्दै उनले कृषिको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणाबारे जानकारी लिने क्रममा बुधबार चेम्बरमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले कोभिडको राहत प्याकेज ग्रामीणस्तरमा पुग्न नसकेको बताए । साथै उनले विदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध हुनुपर्ने बताए । यसका साथै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्सको व्यवस्था, विदेशी लगानीमा स्थापना हुने उद्योगमा पीपीई मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले आर्थिक विकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यतासहित खुला बजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने बताए । यस्तै अध्यक्ष कमल थापाले चेम्बरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताउँदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्बरबाट प्रस्तुत गरिएका सुझावहरुलाई मनन गरिने बताए ।
अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले चेम्बरबाट प्रस्तुत सुझावहरुबारे जिज्ञासा राखेका थिए । सो अवसरमा राप्रपा आर्थिक विभागका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठको पनि उपस्थिति रहेकोे थियो । उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष दीपक मल्होत्रा, तथा चेम्बर कार्यसमिति सदस्य पर्शुराम दाहाल, राजारत्न तुलाधर, दीपक काजी तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।