नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार एक सय ७८ थप संक्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
अहिले यहाँँ सक्रिय संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ६७ हजार चार सय १५ जना सो मन्त्रालयले जनाएको छ । यो संख्या सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितमध्येको १.१४ प्रतिशत हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कुल संख्या चार लाख ३२ हजार पाँच सय १९ रहेको छ भने तीमध्ये चार सय ४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३७ हजार एक सय ६९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको कुल संख्या तीन करोड १४ लाख ८५ हजार नौ सय २३ पुगेको छ । कूल संक्रमितमध्ये ९७.५२ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड २२ लाख ८५ हजार आठ सय ५७ पुगेको छ ।
यही अगस्त १७ सम्ममा भारतमा ४९ करोड ८४ लाख २७ हजार ८३ वटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १७ लाख ९७ हजार पाँच सय ५९ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।
भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ५६ करोड छ लाख ५२ हजार ३० डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ५५ लाख पाँच हजार ७५ डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । रासस/एएनआई