इस्लामावाद । पाकिस्तानको प्रत्यक्ष वैदेशिक लगानी ३८.७ प्रतिशतले घटेको छ । नयाँ आर्थिक वर्षको पहिलो महिना जुलाईमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एफडीआई घटेको हो ।
डनका अनुसार द स्टेट बैंकको पछिल्लो तथ्यांकले उक्त महिवना पाकिस्तानले नौ करोड अमेरिकी डलरमात्रै भित्र्याएको छ । अघिल्लो वर्षको सोही महिनामा पाकिस्तानको एफडीआई आप्रवाह १२ करोड ८७ लाख अमेरिकी डलर थियो ।
चालू आर्थिक वर्षमा पनि एफडीआई आप्रवाहको अवस्था अघिल्लो वर्षजस्तै देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २९ प्रतिशतले घटेर एक अर्ब ८४ करोड अमेरिकी डलर भित्रिएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा चीनबाट आउने एफडीआई घटेको देखिएको छ ।
जुलाईमा चीनबाट ६६ लाख डलर मात्रै भित्रिएको छ । गत वर्ष सोही महिनामा चीनबाट चार करोड ४१ लाख अमेरिकी डलर भित्रिएको थियो । यही कम आप्रवाहकै कारण जुलाईमा एफडीआई ३८ प्रतिशतले घटेको बताइएको छ । विगत केही वर्षयता पाकिस्तानमा चीनले नै धेरै लगानी गर्दै आएको छ । विगत पाँच वर्षमा चीनले जति अरु देशले पाकिस्तानमा लगानी भित्र्याएका छैनन् ।
त्यस्तै जुलाईमा सिंगापुरबाट एक करोड ६६ लाख डलर भित्रिएको छ । गत वर्ष ३२ लाख डलरमात्रै भित्रिएको थियो । यसबाहेक हङकङबाट एक करोड ३२ लाख डलर भित्रिएको छ । गत वर्ष सोही अवधिमा ४६ लाख डलर भित्रिएको थियो । यता अमेरिका, बेलायत र यूएईबाट आउने एफडीआई पनि घटेको छ ।