काठमाडौं । स्विस बैंकमा नेपालका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्येका एक जना बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले तीन अर्बभन्दा बढी रुपैयाँ कालोधन राखेको खुलेको छ । उनले बैंकमा काम गर्दा अनधिकृत रुपमा जम्मा गरेको उक्त रकम स्विस बैंकमा लुकाएर राखेका हुन् ।
नेपालमा रहेका बैंकका सीईओहरुलाई अन्य कर्मचारीको तुलनामा अत्यन्त धेरै तलब र अधिकार दिएर राख्ने गरिएको छ । बैंकका कर्मचारीलाई ८–१० हजारसम्म मासिक तलबमा काम लगाउने गर्दछन् तर बैंकका सीईओहरुले १२ देखि १५ लाखसम्म तलब लिने गर्दछन् । त्यसमा पनि कर्जाका ठूला फाइलमा सीईओहरुले मनोमानी गर्ने गरेका छन् ।
त्यस्तो मनोमानीबाट जम्मा गरिएको कालोधन नेपालमा राख्नसक्ने अवस्था नभएकाले उनले स्विस बैंकमा लगेर लुकाएर राखेका हुन् । त्यसमा उनले केही स्विस नागरिकहरुकै सहयोग समेत लिएका छन् । उनी बैंक तथा अन्य कर्पोरेट हाउससँग सम्बद्ध रहेका व्यक्ति हुन् ।
स्विट्जरल्यान्डको केन्द्रीय बैंक स्विस नेशनल बैंकमा नेपालीहरुको मात्र ४६ अर्ब ६४ करोड रहेको छ र यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०१९ मा नेपालीले लुकाएर राखेको २२ अर्ब ७३ करोड रहेको विवरण सार्वजनिक भएको थियो तर यस वर्ष उक्त रकम बढेर ४६ अर्ब ६४ करोड पुगेको हो ।
स्विस बैंकमा विश्वका दुई सय २४ राष्ट्रका भ्रष्ट व्यक्तिहरुले कालोधन लुकाउने गरेको पाइन्छ । त्यसमा नेपालबाट रकम लुकाउने विभिन्न व्यक्तिहरुको सूचीमा नेपालको एक बहालवाला सीईओको समेत नाम भएको स्रोतको दाबी छ ।