काठमाडौं । उद्योग क्षेत्रमा चिनियाँ लगानी सबैभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को अवधिमा चिनियाँ लगानीकर्ताहरुले उद्योग विभागमार्फत २२ अर्ब ३४ करोड ५० लाख लगानी स्वीकृत गराएका छन् । उनीहरुले एक सय ४० वटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा चिनियाँ लगानीकर्ताले १३ प्रतिशत अर्थात् तीन अर्ब ४७ करोड १७ लाख रुपैयाँ कम लगानी स्वीकृत गराएका छन् । आर्थिक वर्ष २०७६/७७ मा भने चिनियाँ लगानीकर्ताले एक सय ७४ वटा उद्योग स्थापना गर्ने भन्दै २५ अर्ब ८१ करोड ६७ लाख लगानी स्वीकृति गराएका थिए ।
धेरै लगानी स्वीकृत गराउने दोस्रो नम्बरमा सिंगापुर रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सिंगापुरले विभागमार्फत १० अर्ब ४३ करोड ७४ लाख लगानी स्वीकृत गराएको छ । सिंगापुरका लगानीकर्ताहरुले तीनवटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराएका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा तीनवटा उद्योगका लागि २६ करोड लगानी स्वीकृत गराएका थिए ।
त्यस्तै चीन (हङकङ), ब्रिटिश भर्जिन आइसल्यान्ड, भारतले समेत लगानी भित्रिएको पाइन्छ । आर्थिक वर्ष २०७७/०७८ मा चीन (हङकङ)ले नौ अर्ब १० करोड ५० लाख, ब्रिटिश भर्जिन आइसल्यान्डले तीन अर्ब, संयुक्त राज्य अमेरिकाले एक अर्ब ८३ करोड, भारतले एक अर्ब १२ करोड, दक्षिण कोरियाले २५ करोड ५० लाख र चीन (ताइवान)ले २५ करोड लगानी स्वीकृत गरेको छ । चीन (हङकङ), ब्रिटिश भर्जिन आइसल्यान्ड, अमेरिका, भारत, दक्षिण कोरिया र ताइवानका लगानीकर्ताहरुले क्रमशः एउटा, एउटा, छवटा, नौवटा, तीन वटा र एउटा उद्योग स्थापना लागि सो लगानी विभागमार्फत स्वीकृत गराएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ मा भारतीय लगानीकर्ताले १० अर्ब ३१ करोड ९९ लाख, बेलायतले छ अर्ब ६६ करोड ४३ लाख, अमेरिकाले चार अर्ब ५८ करोड ३९ लाख, संयुक्त अरब इमिरेट्सले एक अर्ब १२ करोड २४ लाख र क्यानडाले ५० करोड लगानी स्वीकृत गराएका थिए । उनीहरुले क्रमशः १६ वटा, चारवटा, चारवटा, युएईले तीनवटा र क्यानडाले एउटाा उद्योगले स्थापनाका लागि स्वीकृत गराएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ मा उत्तर कोरियाले २६ करोड, सिंगापुरले पाँच करोड, चीन (हङकङ)ले पनि पाँच करोड लगानी स्वीकृत गराएका छन् । उनीहरुले क्रमशः तीनवटा र एक/एक वटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराएका हुन् । लगानीकर्ताहरुले उद्योग स्थापनासँग रोजगारीको समेत प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा पाँच हजार आठ सय ३३ जनालाई र आर्थिक वर्ष २०७६/०७७ मा १० हजार आठ सय ३९ जनालाई रोजगारी दिने बताइएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा लगानी स्वीकृत रकममा कमी आएको पाइन्छ । त्यस्तै कतिपय मुलुकबाट भने लगानी नै नआएको अवस्थामा समेत रहेको छ । गत आर्थिक वर्षमा लगानी नै नआएका मुलुक भने बेलायत, युएई, क्यानडा रहेका छन् । उद्योग क्षेत्रमा लगानी गर्नेमा एसिया, युरोप, अमेरिकनलगायतका मुलुकबाट लगानी आउने गर्छन् । उल्लिखितबाहेक उद्योगमा अफगानिस्तान, मलेसिया, कतार, जापान, इजरायल, बेल्जियम, पोल्यान्ड, नेदरल्यान्ड्स, मेक्सिकोलगायतका मुलुकका लगानीकर्ताहरुले धेरै लगानी गरेको पाइन्छ ।
विभागका अधिकारीहरु भने अहिलेसम्म आइपुग्दा विदेशी लगानीको अवस्था सन्तोषजनक नरहेको बताउँछन् । विभागका महानिर्देशक जीवलाल भुुसालले उद्योग क्षेत्रमा आएको विदेशी लगानीलाई धेरै भन्न नमिल्ने बताए । एफडीआईको न्यूनतम सीमा पाँच करोड तोकिएको छ । अधिकतमा लगानीको लागि सीमा निर्धारण गरिएको छैन ।
