सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा अवस्थित गार्मा स्वास्थ्य चौकीमा बहिरङ्ग उपचार केन्द्र सञ्चालनमा आएको छ । गैह्रसरकारी संस्था सुआहाराको सहकार्यमा बालबालिकामा हुने कुपोषणको उपचारका लागि उक्त सेवा सञ्चालनमा ल्याइएको सुआहाराका फिल्ड सुपरभाइजर भेषनारायण राजभण्डारीले जानकारी दिए ।
राजभण्डारीका अनुसार बालबालिकालाई कुपोषणबाट बचाउन बाल भिटा, आरयूटीएस एक सय प्याकेट, उचाइ नाप्ने मेसिन, बच्चाको तौल लिने मेसिनलगायतका सामग्री वितरण गरिएको छ । सामान्यतया कम तौल, पुड्कोपन, ख्याउटेपनलगायतका लक्षण देखिएकालाई कुपोषण भएको मानिन्छ । बहिरङ्ग उपचार केन्द्रको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो ।