सोलुखुम्बु । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा झण्डै ३१ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ३० करोड ९९ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको १२ करोड १६ लाख ५६ हजार रुपैयाँ बेरुजु देखाएको छ । उक्त प्रतिवेदनले यस गाउँपालिकामा चरम अनियमितता हुनेगरेको देखाएको हो । यस्तै सबैभन्दा कम महाकुलुङ गाउँपालिकाको २८ लाख चार हजार रुपैयाँ बेरुजु रहेको छ । यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाको आठ करोड ८६ लाख २२ हजार, सोलुदुधकुण्ड नगरपालिकाको तीन करोड ७० लाख ४२ हजार र थुलुङ दुधकोशी गाउँपालिकाको ८६ लाख चार हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यसैगरी नेचासल्यान गाउँपालिकाको तीन करोड ४४ लाख ५३ हजार, लिखुपिके गाउँपालिकाको एक करोड ३१ लाख आठ हजार र सोताङ गाउँपालिकाको ३६ लाख ९२ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।