काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकहरूलाई उत्कृष्ट सेवा तथा सुविधाहरू उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशसन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात् ट्याप सुविधा भएको पस मेसिनहरूमा प्रयोग गरी ग्राहकहरूले भुक्तानी गर्न सकिने सुविधामा आधारित सुविधा ल्याएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको विश्व महामारीको रूपमा रहेको कोभिड १९ को जोखिममा न्यूनीकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहक महानुुभावहरूले व्यक्तिगत दूरी कायम गर्न सहज हुनेछ । हाललाई यस प्रविधिमार्फत ग्राहकहरूले प्रतिकारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।