वासिङटन । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
अहिले ६५ वर्ष भएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हुन् । उनलाई अमेरिकाको वरिष्ठ कूटनीतिज्ञका रुपमा पनि चिनिन्छ । उनले यसअघि कूटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गरेका थिए । सरकारको वर्गीकरणमा उनी विदेश मन्त्रालयको तेस्रो उच्च तहमा थिए ।
निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत भएका थिए । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत भएका थिए भने विदेश मन्त्रालयको प्रवक्तासमेत भएका थिए । त्यसैगरी जर्ज एचडब्लु बुस र बिल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उनले काम गरेका थिए ।