बेइजिङ । चिनियाँ यात्रुसेवा प्रदायक अनलाइन ट्याक्सी कम्पनी दिदीले बेलायत र युरोपमा सेवा दिने योजना बीचैमा रोकेको छ । अमेरिकी कम्पनी उबरको प्रतिस्पर्धी कम्पनीले पश्चिम युरोपमा सेवा दिने योजना बनाएको थियो ।
कम्पनी अहिले उक्त परियोजनाबारे छलफलमा लागेको बीबीसीले जनाएको छ । पश्चिमा राष्ट्र र बेइजिङबाटै अहिले चिनियाँ कम्पनीमाथि अनुसन्धानको चर्को दबाबमा परिरहेका छन् । चीनले त व्यवसायमाथि कडा निगरानी अघि बढाइरहेको छ । यद्यपि दिदीले नयाँ बजारको खोजी गरिरहेको उल्लेख गरेको छ ।
कम्पनीले हालसालै दक्षिण अफ्रिका, इक्वेडर र काजकस्तानमा सेवा सुरु गरेको छ । पछिल्लो समय पश्चिमा राष्ट्रमा चिनियाँ कम्पनीविरुद्ध अनुसन्धान बढ्दै गएको छ । गत वर्ष बेलायतले फाइभजी पूर्वाधार बेच्न हुवावेलाई प्रतिबन्ध लगाएको थियो । भर्खरै न्युयोर्क स्टक एक्सचेन्जमा प्रवेश गरेको कम्पनीको सेयर यो निर्णयसँगै ओरालो लागेको बताइएको छ ।