काठमाडौं । काभ्रेको बनेपा र भक्तपुरको देकोचामा दुईवटा आउटलेट खोल्दै सुनसरीको आरएन्डआर एग्रो प्रालिले आफ्नो उत्पादनलाई बजारीकरण गर्न सुरु गरेको छ । स्वस्थ, अर्गानिक र ताजा माछा, उपभोक्तामाझ पु¥याउने उद्देश्यले अत्याधुनिक स्तरको खाने माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
कम्पनीले अहिले सुनसरीको इनरुवा, इटहरी, बलाहा, मोरङको तकिया, झोराहट र बर्जुमा करिब १२५ बिघा क्षेत्रफलमा माछापालन गरिरहेको छ । कम्पनीले ‘द फिश किङ्ग’को आउटलेट उपत्यका आसपास बनेपा र भक्तपुरमा सुरुवात गरेको हो । माछाको बजारको प्रमुख हिस्सा ओगटेको भारतीय माछालाई नेपाली उत्पादनले प्रतिस्थापन गर्दै अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्याउने प्रमुख लक्ष्य रहेको कम्पनीका सीईओ सुबोध पोखरेलले जानकारी दिए । रोहु, कमन कार्प, बिग हेड, ग्रास, पन्गास (जल कपुर), टिलापिया जातको जिउदो तथा फ्रेश माछा उपलब्ध हुने उनले बताए ।
आउटलेटमा माछा किन्न आउने ग्राहकवर्गले सफा र ताजा माछाका साथै अन्तर्राष्ट्रियस्तरको स्वच्छता र गुणस्तर प्राप्त गर्ने दाबी गरे । द फिस किङ्गको आउटलेट भक्तपुरको ठिमी, काठमाडौँको बानेश्वर, बल्खु र डिल्लीबजार पिपलबोटमा गरी अन्य ४ वटा आउटलेट चाँडै नै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष राम पौडेलले बताए । द फिश किङ्गलाई ब्रान्ड बनाउदै दशैँ अगाडि दश विभिन्न स्थानमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ ।