काठमाडौं । स्पा सेन्टरहरु मानव स्वास्थ्यलाई शारीरिक र मानसिक रुपमा स्फुर्ति बनाउने दोस्रो अस्पतालको रुपमा रहेको स्पा व्यवसायीहरुले बताएका छन् । स्पा थेरापी आयुर्वेदिक र योगाको शैली अपनाएर उपचार गरिने एक विधि रहेको उनीहरुको भनाइ छ ।
ठमेलस्थित एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा स्पा संघ नेपालका अध्यक्ष शुभलाल थिङले मानिसको स्वास्थ्यलाई ऊर्जाशील र तन्दुरुस्त बनाउने पेशाको रुपमा लिनुपर्ने बताए । पछिल्लो समयमा स्पा क्षेत्रमा देखिएको विकृतिलाई न्यूनीकरण गर्न स्पा सेन्टरलाई मर्यादित र व्यावसायिक बनाउन सबै व्यवसायहरु लाग्नुपर्ने बताए । अध्यक्ष थिङले स्पा मनोरञ्जन क्षेत्र नभई स्वास्थ उपचार केन्द्रको रुपमा बुझ्न आग्रह गरे । कोभिड–१९ को मारमा परेका व्यवसायहरुमध्ये स्पा क्षेत्र पनि जटिल अवस्थामा पुगेको भन्दै सम्बन्धित निकायले यथाशीघ्र सञ्चालन गर्ने अनुमति दिनुपर्ने माग गरे ।
‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा कोभिड र निषेधाज्ञाका कारण घरमै बस्नुपरेका दीर्घकालीन रोगका बिरामी र शारीरिक रुपमा व्यायाम गर्न नपाउने व्यक्तिहरुका उपचारमा मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउने र सकारात्मक सोचको विकास गराउने भएकाले स्पाले महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष थिङको भनाइ थियो ।
स्पा प्राकृतिक रुपमा गरिने उपचार पद्धति भएको उल्लेख गर्दै स्पा रोगीलाई निरोगी बनाउने विधिमात्र नभई, यो मानव शरीरलाई रोगमुक्त राख्ने कला र मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराई शरीरलाई रोगमुक्त राख्न सहयोग गर्ने उनले बताए ।
त्यस्तै कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले स्पा व्यवसायीहरुको मागको सम्बोधन गर्दै थप व्यवस्थित र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग सहजीकरण गर्ने प्रतिबद्धता गरे । उनले स्पाको नाममा विकृति ल्याउने र आपराधिक गतिविधि गर्नेहरुलाई निरुत्साहित बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।
प्रहरी संगठनकै केही व्यक्तिहरुलाई व्यवसायी गर्नेमाथि गरेको दुर्व्यवहारबारे सम्बोधन गर्दै अब कुनै प्रहरीले गलत काम गर्छन् भने सिधै आफूलाई जानकारी गराउन जो कोही भए पनि कारबाही गरिने बताए । एसएसपी सिंहले कोभिडसँग लड्न सामूहिक सोचक साथ अघि बढ्न आग्रह गरे । हाल काठमाडौँभित्र ५२–६० प्रतिशत कोरोना संक्रमण दर रहेको उल्लेख गर्दै त्यसको न्यूनीकरणमा सबै नागरिक जिम्मेवारी बन्नुपर्ने बताए । प्रहरीले सार्वजनिक ठाउँहरुमा सचेतना अभियान गर्दै आएको र स्वास्थ्यको मापदण्ड अपनाएर आफ्नो पेशा व्यवसाय गरेमा कोरोना संक्रमण दर कम हुँदै जाने बताए ।