अस्ट्रेलिया । अस्ट्रेलियाली ध्वजावाहक वायुसेवा कम्पनी क्वान्टासले कोरोना संक्रमणको विश्व महामारीले कम्पनीलाई अर्बौँ डलर (अस्ट्रेलियाली) घाटाको खर्च भएको छ । सन् २०२१ को अन्त्यसम्म कम्पनीलाई २० अर्ब अस्ट्रेलियाली डलर घाटा हुने कम्पनीका प्रमुख एलान जोयसले बताएका हुन् ।
कम्पनीले करअघिको वार्षिक नोक्सानी एक अर्ब ८३ करोड अस्ट्रेलियाली डलर रहेको घोषणापछि जोयसले कुल घाटा २० अर्ब डलर पुग्ने बताएका हुन् । यसका बाबजुद क्वान्टासले क्रिसमसको समयमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हट्ने अनुमान गरेको छ । कम्पनीले डिसेम्बरदेखि केही अन्तर्राष्ट्रिय उडान खुल्नसक्ने संकेत पनि गरेको छ । कोरोनाबाट सुरक्षित गन्तव्यमा उडान खोल्ने तयारी कम्पनीको छ ।
यसअनुसार बेलायत, अमेरिका, क्यानडा, जापान र सिंगापुरमा कम्पनीले सेवा पुनः थाल्ने देखिएको छ । क्वान्टासले पाँचवटा ए३८० सुपर जम्बो विमानहरु सेवामा फर्काउने कम्पनीको तयारी छ । अस्ट्रेलियाले ८० प्रतिशत खोप लगाउन योग्य जनसंख्यामा लगाइसकेको छ । त्यसकारण पनि विमानसेवा कम्पनीहरुलाई आशा जगाएको छ ।