काठमाडौं । भारत सरकारको सहयोगबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित अक्सिजन प्लान्टको हस्तान्तरण गरिएको छ । प्रतिष्ठानको कोभिड अस्पतालको प्राङ्गणभित्र निर्माण भएको एक हजार लिटर प्रतिमिनेट क्षमता भएको उक्त प्लान्टको हस्तान्तरण बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ तथा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा भएको हो । राजदूत क्वात्राले उक्त प्लान्ट राज्यमन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा भएको समारोहमा हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा प्रतिष्ठानको सिनेट हलबाट प्रतिष्ठानका तर्फबाट कन्फरेन्स कलमार्फत सहभागिता जनाइएको थियो । भारतीय राजदूतावासका तर्फबाट सचिव प्रियादर्शिनी आर तथा प्रतिष्ठानका तर्फबाट शैक्षिक डिन प्राडा शिवेन्द्र झा, परीक्षा डिन प्राडा श्याम थापा क्षेत्री, डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्र, सहायक परीक्षा डिन डा. भावेष कोइराला, कोभिड अस्पताल प्रमुख प्राडा ज्ञानेन्द्र मल्ल तथा कोभिड व्यवस्थापन टिमका सदस्यहरुका साथै अन्य प्रशासनिक, नर्सिङ्ग, प्राविधिक कर्मचारीहरुको पनि सहभागिता थियो । उक्त भच्र्युअल समारोहमा प्रतिष्ठानका प्राडा शिवेन्द्र झाले प्लान्टको निर्माणले कोभिडका बिरामीका लागि प्रतिष्ठानको अक्सिजन आपूर्तिमा ठूलो टेवा पुगेको बताए ।