कञ्चनपुर, माघ १२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रत्येक स्थानीय तहहरूमा कम्तीमा पनि एउटा नमूना विद्यालयका रूपमा स्थापित गर्ने सरकारको नीति रहेको बताएका छन् । यसअघि एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालयको अवधारणामा सरकारले काम गरिरहेको भए पनि अहिले त्यो कम हुने बताउँदै उनले अब एक स्थानीय तह, एक नमूना विद्यालय सरकारको योजना रहेको बताए ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगरमा रहेको श्री जन नमूना माविको नमूना विद्यालय शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पोखरेलले सबै विद्यालयले आफ्नो गुरूयोजना बनाई कार्य गरे सरकारले नै नमूना घोषणा गरिरहनुनपर्ने बताए । सरकारले ल्याएको नयाँ शिक्षा नीति कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सबैले सकारात्मक सोचको विकास गर्नुपर्ने बताए । पोखरेलले कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको स्तरवृद्धिका लागि पहल गर्ने बताए ।
महाकाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र अन्य आवश्यक व्यवस्थापनका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पोखरेलले सम्बन्धित निकायमा पहल गर्ने सकारात्मक संकेत देखाएका छन् । त्यस्तै, मन्त्री पोखरेलले शुक्रबार नै कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि स्थलगत अवलोकन गर्नुका साथै पुनर्वास जनता मावि र रामबुद्ध मावि तथा बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गरेका छन् ।