काठमाडौँ ।नेपाल र संयुक्त अरब इमिरेट्स बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा जोड दिइएको हो ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापारघाटा कम गर्न संयुक्त लगानीमा गर्नुपर्नेमा जोड दिइएको हो ।
दुवै मुलुकबीचको द्विपक्षीय व्यापारमा नेपालले ठूलो व्यापारघाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार यूएईसँग नेपालले सन् २०२०÷२१ मा ३६ अर्बभन्दा बढीको व्यापारघाटा बेहोरेको थियो । यस्तै सन् २०१९÷२० मा करिब १८ अर्ब र २०१८÷१९ मा ३५ अर्बको व्यापारघाटा थियो । नेपालले तयारी पोसाक, हाते गलैँचा तथा हस्तकलाका सामानहरू, मुसुुरोका दाललगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चाँदी, खनिज तेल र यससँग सम्बन्धित अन्य उत्पादनहरू, प्लास्टिक्स तथा प्लास्टिक्सजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ ।
उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, ऊर्जा, आईटी, उत्पादनमूलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापारघाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक संयुक्त अरब इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइएको थियो । हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएईबीच पर्यटन, सहकार्यको अर्को कडी हुनसक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यतामाथि पनि छलफल भएको महासंघले जनाएको छ ।
यसका लागि दुवै देशका सरकार र निजी क्षेत्रबीचको समन्वय र सहकार्यलाई अझ घनीभूतढंगबाट लैजानुुपर्नेमा जोड दिइएको थियो । भेटमा महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भव्यतालाई सफल पार्न आर्थिक कूटनीतिको सहयोगको अपेक्षा गरे । यूएईसँग आर्थिक सम्बन्ध मजबुद बनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न उनले राजदूतलाई आग्रह गरेका थिए । राजदूत सइद हमदान अल नाकबीले आफ्नोतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुर्वै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाएका थिए ।