काठमाडौँ ।कोभिड १९ महामारीको समयमा उडान क्षेत्रका एयरलाइन्स कम्पनीहरुले बढी भाडा लिएर यात्रुहरुलाई मारमा पारेका छन् । यसरी महामारीमा भडी भाडा लिएर याुत्रलाई मारमा पर्नेमा उडान क्षेत्रका चर्चित कम्पनीहरु नै रहेका छन् ।भाडा बढी लिनेमा कतार एयरवेज, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्स रहेका छन् । कतार एयरवेजले नौवटा टिकट, टर्किस एयरलाइन्सले दुईवटा टिकट र हिमालय एयरलाइन्सले दुईवटा टिकटमा तोकिएभन्दा बढी भाडा लिएका हुन् । कतार एयरवेजले १६ वटा टिकट, टर्किस एयरलाइन्सले सातवटा र हिमालय एयरलाइन्सले दुईवटा टिकटमा बढी भाडा लिएको भन्दै उजुरी परेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठिन समितिले भाडा बढी लिएको विषयमा गरेको अध्ययनले कतार एयरवेज, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सले भाडादरमा बदमासी गरेको उक्त तथ्य फेला पारेको हो । कोभिड महामारीको समयमा चार्टर्ड र अन्य अन्तर्राष्ट्रिय उडानको क्रममा एयरलाइन्स कम्पनीहरुले सर्वसाधारणसँग बढी भाडा असुल गरेको आरोप लागेको थियो ।
बढी भाडा लिएका एयरलाइन्स कम्पनीहरुलाई कारबाही प्रक्रिया समेत अघि बढाउने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् । बढी भाडा लिने कार्यमा संलग्नहरुउपर थप विस्तृत अनुसन्धान एवम कारबाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गरिने सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई प्राप्त भएको उनले बताए ।
२०७७ जेठ ३२ मा सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नागरिक उद्धारको लागि भन्दै चार्टर्ड उडान खुला गरेको थियो । सो क्रममा विदेशबाट आउने यात्रुहरुलाई सरकारी अधिकारीसँगको मिलेमतोमा तोकिएको भाडाभन्दा तीन गुणासम्म एयरलाइन्स कम्पनी ९ट्राभल एजेन्सी०हरुले भाडा लिएका थिए । निश्चित एयरलाइन्सलाई उडान अनुमति दिदाँ वैदेशिक रोजगारीमा फर्किने युवाहरु चर्को भाडादरका कारण समस्यामा परेका थिए । कोभिडका कारण विदेशमा अलपत्र परेका युवाहरुलाई एयरलाइन्स कम्पनीले तीन गुणाभन्दा बढी भाडा लिएको कारण थप मारमा परेका थिए । असार ११ सम्म चार्टर्ड उडान खुला गरेको सरकारले नेपालमा रहेका विदेशी नागरिकलाई समेत स्वदेश फर्किने व्यवस्था गरेको थियो ।
महामारीको समयमा बढी भाडा लिएको भन्दै यात्रुहरुले उजुरी गरेका थिए । उजुरी परेसँगै सरकारले छानबिन समिति निर्माण गरेको थियो । महामारीको समयमा चार्टर्ड र अन्य अन्तर्राष्ट्रिय हवाइ उडानमा भाडा महँगो भएको सम्बन्धमा प्राप्त गुनासोउपर छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानबिन समिति निर्माण गरेको थियो । छानबिन समितिले तयार पारेको प्रतिवदेन संयोजक पोखरेलले बुधबार मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई बुझाएका थिए ।