काठमाडौँ ।सरकारले एक वर्षमा दुुई खर्ब रुपैयाँभन्दा बढीको आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी एक वर्षको अध्ययन प्रतिवेदनअनुसार सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा कुुल दुुई खर्ब २४ अर्ब एक करोड रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन गरेको हो ।
प्रतिवेदनअनुसार सो अवधिमा सरकारले ३६ अर्ब ९० करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । सोही आधारमा आज २०७७÷०७८ मा सरकारले एक खर्ब ८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन देखिएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको चार दशमलव चार प्रतिशत हो । यस अवधिमा सरकारले एक खर्ब २७ अर्ब १८ करोड बाह्य ऋण परिचालन गरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण नौ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण आठ खर्ब अर्ब ३२ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १७ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । आव २०७७÷०७८ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४० दशमलव पाँच प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष यस्तो अनुपात ३६ दशमलव पाँच प्रतिशत रहेको थियो । सोही आधारमा २०७८ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च एक खर्ब ८८ अर्ब ७५ करोड रुपैयाँ छ । यस अवधिमा प्रदेश सरकारको स्रोतप्राप्ति एक खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी एक खर्ब १८ अर्ब ५९ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ४१ अर्ब ३६ करोड परिचालन गरेका छन् । आर्थिक वर्ष २०७८÷०७९ का लागि विभिन्न प्रदेश सरकारहरुले कुलमा दुई खर्ब ६१ अर्ब ८७ करोडको बजेट प्रस्तुत गरेका छन् । उक्त बजेटको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात पाँच दशमलव चार प्रतिशत छ ।अघिल्लो वर्ष प्रदेश सरकारहरुले कुल दुई खर्ब ६४ अर्ब २१ करोडको बजेट प्रस्तुत गरेका थिए । कुल आन्तरिक कर्जा भने आव २०७७÷०७८ मा २६ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्ष उक्त कर्जा १३ दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।