काठमाडौँ ।बागमती प्रदेशको औद्योगिक क्षेत्रमा मात्र सात खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअन्तर्गतको बागमती प्रदेशको अर्धवार्षिक प्रतिवेदनअनुसार औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा नौ दशमलव सात प्रतिशतले बढेर सात खर्र्ब ८२ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो ।प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव आठ प्रतिशतले बढेर छ खर्र्ब ५५ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो । बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७ दशमलव छ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी छ खर्ब ७१ अर्ब ७२ करोड रुपैयाँ अर्थात् ८५ दशमलव पाँच प्रतिशत कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४४ करोड रुपैयाँ कर्जा अर्थात् शून्य दशमलव शून्य छ प्रतिशत लगानी रहेको छ ।
प्रतिवेदनअनुसार कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २१ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा छ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विद्युत, ग्यास तथा पानीमा १४ दशमलव तीन प्रतिशतले, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा १२ प्रतिशतले, निर्माणमा आठ दशमलव एक प्रतिशतले कर्जा बढेको छ भने खानीसम्बन्धी उद्योगमा एक दशमलव पाँच प्रतिशतले घटेको छ । क्षेत्रगत कृषि कर्जाअन्तर्गत समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २० प्रतिशतले वृद्धि भई ९० अर्ब ३४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव २१ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले चार दशमलव ३४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४३ दशमलव दुई प्रतिशत, चितवन जिल्लाको अंश ३१ दशमलव नौ प्रतिशत, मकवानपुर जिल्लाको अंश पाँच प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाको अंश चार दशमलव छ प्रतिशत, धादिङ्ग जिल्लाको अंश तीन दशमलव पाँच प्रतिशत, नुवाकोट जिल्लाको अंश तीन दशमलव तीन प्रतिशत, ललितपुर जिल्लाको अंश दुुई दशमलव छ प्रतिशत, भक्तपुर जिल्लाको अंश एक दशमलव नौ प्रतिशत, सिन्धुली जिल्लाको अंश एक दशमलव पाँच प्रतिशत, सिन्धुपाल्चोक जिल्लाको अंश एक दशमलव पाँच प्रतिशत, दोलखा जिल्लाको अंश शून्य दशमलव छ प्रतिशत, रामेछाप जिल्लाको अंश शून्य दशमलव पाँच प्रतिशत र रसुवा जिल्लाको अंश शून्य दशमलव चार प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०७७ पुस मसान्तसम्ममा वाणिज्य बैंकका एक हजार छ सय २७, विकास बैंकका दुुई सय ८७, वित्त कम्पनीका ९६ तथा लघुवित्त वित्तीय संस्थाका छ सय ३० गरी जम्मा दुुई हजार छ सय ४० शाखा सञ्चालनमा छन् । यसमध्ये काठमाडांै जिल्लामा सबैभन्दा बढी एक हजार २५ तथा रामेछाप जिल्लामा सबैभन्दा कम ४४ शाखा सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा आठ दशमलव चार प्रतिशतले वृद्धि भई पुस मसान्तमा २९ खर्ब १२ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा १२ दशमलव छ प्रतिशतले वृद्धि भई २० खर्ब ८१ अर्ब सात करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ११ दशमलव सात प्रतिशतले वृद्धि भएको थियो । २०७७ पुस मसान्तमा कर्जा निक्षेप अनुपात ७१ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७० दशमलव छ प्रतिशत रहेको थियो ।
सेवा क्षेत्र कर्जा समीक्षा अवधिमा बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्र्रवाह गरेको कर्जा १० प्रतिशतले वृद्धि भई आठ खर्र्ब २१ अर्ब ३९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९ दशमलव पाँच प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी १६ प्रतिशतले वृद्धि भएको छ भने थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा सबैभन्दा कम सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी, अन्य सेवा क्षेत्रमा १३ दशमलव आठ प्रतिशत र पर्यटन क्षेत्रमा ११ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ भने यातायात, भण्डार र सञ्चार क्षेत्रमा दुई दशमलव तीन प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।