काठमाडौं । मोडल सङ्स नेपालले ‘द मम ब्युटी कन्टेस्ट’ को आवेदन खुलाएको छ । मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित गत शुक्रबारदेखि प्रतियोगिताको आवेदन खुलाएको हो । यसमा भाग लिन इच्छुक महिलाहरुले अनलाइनमार्फत वा मोडल सङ्सको कार्यालय कामपा–२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सीईओ डेभिल सिंह राजपुतले बताए । उनले भने, ’इच्छुक महिलाले एक हजार तिरेर अनलाइनमार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था मिलाएका छौँ ।’
सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुतले बताए । ‘द मम्न’ अन्य सौन्दर्य प्रतियोगिताभन्दा पृथक् रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द ममलाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिँदै ओझाले भने, ‘इभेन्ट क्षेत्र गसिपको क्षेत्र हो, त्यसैले यहाँ अनेक खालका चर्चा परिचर्चा हुनु स्वाभाविक मानिन्छ, यद्यपि हामी गसिप चाहँदैनौँ, यस अर्थमा हामीले प्रतियोगितालाई मनोरञ्जनको दृष्टिकोणबाट मात्र नहेरी आमा बनिसक्नुभएका नारी/महिलाहरुको क्षमतालाई मुखरित गर्न, ग्रुमिङको अवसर दिलाउन प्लेटफर्म विकास गर्ने लक्ष्यका साथ अघि बढेका छौँ ।’