वासिङटन । अमेरिकी अर्थतन्त्रले विश्लेषकहरुले अनुमान गरेभन्दै निकै कम रोजगारी सिर्जना गरेको छ । बीबीसीका अनुसार अगस्ट महिनामा अमेरिकामा दुई लाख ३५ हजार मात्रै रोजगारी सिर्जना भएको हो ।
उक्त तथ्यांक जुलाईमा सिर्जना भएको १० लाख ५० हजारभन्दा निकै कम हो । यसले महामारीबाट बौरिन थालेको अर्थतन्त्र पुनः यसकै चपेटामा परेको डर पैदा भएको छ । रोजगारी सिर्जनाको संख्या कम भए पनि जुलाईको ५.४ प्रतिशतको तुलनामा अगस्टमा बेरोजगारी दर ५.२ प्रतिशतमा झरेको छ । अर्थशास्त्रीहरुले पछिल्लो समय फैलिएको कोरोना डेल्टा भेरिएन्टको असर तथ्यांकमा देखिएको बताएका छन् । डेल्टा भेरिएन्ट संक्रमणसँगै यात्रा, पर्यटन र आतिथ्यताजस्ता क्षेत्रमा नराम्रो प्रभाव परेको छ ।
श्रम विभागले यो तथ्यांक अगस्टको दोस्रो हप्ता जम्मा गरेको थियो । यसमा महिनाको उत्तरार्धतिर आएको इदा र हेनरी आँधीको प्रभाव समावेश छैन । कम रोजगारीको तथ्यांकले अफगानिस्तानबाट सेना फिर्ती प्रकरणमा आलोचना खेपेका राष्ट्रपति जो बाइडेनलाई थप चिन्तित बनाएको छ । यद्यपि उनले कम संख्याको रोजगारी सिर्जनाको तथ्यांकका बचाउ गरेको बताइएको छ ।