काठमाडौं । यूएस डाइभर्सिटी भिसा (ईडीभी) २०२० को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित अमेरिकन राजदूतावास र काठमाडौंका विभिन्न स्थानबाट छ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कुलेश्वर बस्ने पाल्पाका ३५ वर्षीय सुमित रत्न गुभाजु, ललितपुर सातदोबाटो बस्ने मोरङका ३५ वर्षीय अमर बहादुर कटुवाल, कास्कीमा बस्ने नवलपरासीका ३० वर्षीय नरेश केसी, काठमाडौं रानीबारी बस्ने नवलपरासीका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनेपाका ३३ वर्षीय दिप विष्ट र काठमाडौं टेकु बस्ने २३ वर्षीय सोहिली शाही रहेका छन् ।
नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२० को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरूले भिसा प्रयोजनको लागि १०+२ को नक्कली ट्रान्सक्रिप्ट बानाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकन दूतावाससँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न शैक्षिक प्रमाणपत्र नक्कली ट्रान्सक्रिप्टसहित पक्राउ गरेको हो ।