काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेड र शेर्पा आउटडोर प्रालिबीच फाइनान्सका डेबिट कार्डवाहक, आईसीएफसी स्मार्ट (मोबाइल बैंकिङ फोन–पे)का सेवा उपभोग गर्ने ग्राहक, एवं कर्मचारीहरूलाई शेर्पा आउटडोर प्रालिमा सपिङ गर्दा सम्पूर्ण सामानहरूमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापश्चात् फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखा प्रबन्धक सुदिन कुमार लामा र शेर्पा आउटडोर प्रालिका तर्फबाट अध्यक्ष काजी शोर्पाले हस्ताक्षर गरेका हुन् । फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा १९ करोड ६२ लाख ७३ हजार सात सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १० करोड ४३ लाख ५३ हजार आठ सय ३१ रूपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख ६५ हजार आठ सय रूपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा १५ अर्ब १८ करोड ८१ लाख ९७ हजार सात सय ८९ रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५८ करोड ७९ लाख २२ हजार छ सय ४३ रूपैैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३० करोड ३९ लाख २० हजार तीन सय ६२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने १२ करोड ८५ लाख ५२ हजार एक सय २० रूपैयाँ रहेको छ ।