काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप सातवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालिका २ छ जना चोकमा गरी जम्मा सात स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा सात शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा एक सय ७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिनेछ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६२ वटा शाखाहरूलगायत एक सय ७२ शाखारहित बैंकिङ सेवा र पाँचवटा एक्सटेन्सन काउन्टर समेत गरी जम्मा तीन सय ३९ स्थानवाट १० लाखभन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर दुई सय तीनवटा एटीएमहरू सञ्चालनमा रहेको छन् । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ३६ करोड छ लाख ८१ हजार छ सय ३७ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २६ करोड ५१ लाख ५० हजार छ सय ६३ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रूपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रूपैंयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड १० लाख ४९ हजार तीन सय आठ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३२ करोड ६० लाख ९९ हजार नौ सय ८६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १३ करोड २७ लाख ३५ हजार छ सय ४९ रूपैयाँ रहेको छ ।
अघिल्लो सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार पाँच सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार एक सय १६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३६ प्रतिशत रहेको थियो ।