काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच छलफल भएको छ । बैंकका अनुसार सोमबार स्वच्छ व्यवसायः सम्मानित व्यवसायी शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सुनसरी रत्न तथा आभूषण महासंघद्वारा शुभारम्भ गरेको ‘स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य, बैंकका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा, इटहरी शाखाका शाखा प्रबन्धक चन्द्रदीप पहाडी, विराटनगर शाखाका शाखा प्रबन्धक देवीप्रसाद चम्लागाई र सुनसरी रत्न तथा आभूषण संघका तर्फबाट संघका अध्यक्ष टेकबहादुर यङदेन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान, इटहरी, इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरूको उपस्थिति रहेको थियो । सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंकबीच बैंकिङ सहकार्यको उद्देश्यको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा उद्यमशीलता प्रवर्द्धनका हेतुले ल्याइएका विभिन्न बैंकिङ सेवाहरू तथा डिजिटल बैंकिङसम्बन्धी विभिन्न सेवाहरूको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरूलाई बिनाधितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने, डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त बैंकले महासंघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउन मिति २०७८, असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो ।
बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा ७४ करोड १६ लाख ८० हजार छ सय ६६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ४८ करोड ८४ लाख ५६ हजार दुई सय नौ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार सात सय ८१ रूपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ४९ अर्ब ५५ करोड ७५ लाख ६१ हजार दुुई सय ४३ रूपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब आठ करोड ७९ लाख ४० हजार एक सय ९१ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५० करोड ७१ लाख २९ हजार छ सय ५५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दसलव ६७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६० करोड ३० लाख ३४ हजार तीन सय ३७ रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख ३० हजार पाँच सय २७ रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड ९० लाख ३० हजार तीन सय ७४ रूपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३९ करोड ८९ लाख ४९ हजार सात सय ६५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५० प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)